काठमाडौं । काठमाडौं महानगरपालिका र प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । साउन २६ गते काठमाडौंमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पाख्रीबासका प्रमुख बृषबहादुर राईले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । त्यसपछि भगिनी सम्बन्ध घोषणा प्रमाण पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरिएको थियो ।
सम्बन्ध स्थापना हस्ताक्षरपछि काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत पाख्रीबास नगरको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि सम्झौता भयो । सम्झौताबमोजिम त्यस क्षेत्रमा पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
१ प्रदेश १ अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार महानगरपालिकाले यसअघि कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।
हितैषी तथा मैत्रीपूर्ण सम्वन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबीच भगिनी सम्बन्ध स्थापनाको अभियान अघि बढाएको हो । सम्झौतापछि बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको गृह जिल्लाको नगर विकासको अभ्यास अन्य हाम्रा लागि पनि सिकाइ हुन सक्छ ।‘
‘मुलुक भित्रकै स्थानीय तह, स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापनाले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले हामीले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ प्रमुख शाक्यले भने, ‘अन्तर्राष्ट्रिय सहरबाट मात्र होइन, देशभित्रकै नगरबाट धेरै सिक्न सकिन्छ भन्ने हाम्रो विश्वाश हो । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुनेछ ।’
एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भएकोले पहिलो चरणमा ७ प्रदेशका ७ स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअन्तर्गत काम भइरहेको प्रमुख शाक्यको भनाइ थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौँले अन्य नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको हो ।
कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौं र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग–अलग रहेको बताए । काठमाडौंले रेल सेवाको कुरा गर्छ । त्यो हामी सपना देख्न सक्दैनौँ । हाम्रो सपना सानो छ । हामी चाहन्छौँ, सबै वडामा बाह्रै महिना यातायातका साधन लैजान सकियोस् । यसरी ठूलो काम गर्ने सहरले हामीजस्तो सानो सपना देख्ने नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । यो हाम्रा लागि हर्षको क्षण हो ।’ प्रमुख राईले पाख्रीबास नगरका जनताकातर्फबाट काठमाडौंका जनतालाई आभार प्रकट गरे ।
तह र संरचनाहरुलाई मिसाएर संयुक्त रुपमा असल अभ्यास आदान प्रदानबाट आपसी हित बढाउने अपेक्षा गरिन् । भगिनी सम्बन्ध भन्नेवित्तिकै अन्तर्राष्ट्रिय सहर सम्झनामा आउनु हुँदैन । आन्तरिक सिकाइ अझ प्रभावकारी हुन्छन् । खड्गी श्रेष्ठको भनाइ थियो ।
त्यस अवसरमा धनकुटा नगरकी उपप्रमुख देवकला पौडेल (तिम्सिना), महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईसहित अधिकारीहरु सहभागी थिए ।
यही अवसरमा डडेल्धुराको अमरगढी नगरसँग पनि भगिनी सम्बन्ध स्थापना भएको थियो ।
समुद्र सतहदेखि २ सय मिटरदेखि १ हजार ८५२ उचाइ भूगोल महाभारत पर्वत श्रेणीको उत्तरमा रहेको पाख्रीबास नगरमा १० वटा वडा छन् । १४४.२९ बर्ग किलोमिटर नगरको भौगोलिक क्षेत्र हो । ०६८ को जनगणनाअनुसार नगरको जनसंख्या २२ हजार ७८ हो ।
साविकको पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगा गाउँ विकास समितिलाई जोडेर ०७१ मंसिर १६ गते पहिलो पटक नगरपालिका घोषणा गरियो । त्यसपछि ०७३ फागुन २७ गते चुङ्वाङ् गाउँ विकास समितिलाई गाभेर संघीय शासन व्यवस्था बमोजिमको नगर घोषणा गरिएको हो ।
अर्गानिक कृषि नगरको नारा बोकेर कृषि पर्यटनतर्फ केन्द्रीत नगरभित्र जलपादेवी, राम्चे डाँडा, जौटार, नैनीताल र पाख्रीबास कृषि अनुसन्धान केन्द्र प्राकृतिक पर्यटकीय क्षेत्र हुन् ।