काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा एमाले पाँच दलको गठबन्धनमा नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बस्नेतले भने, ‘शुभकामना, गठबन्धन नटुटोस्, पार्टी नफुटोस्, जनता आन्दोलित हुनु नपरोस् । पाँच दलको गठबन्धन भन्दै प्रमुख प्रतिपक्षी दल एमालेको नाम नलियोस्, एमाले गठबन्धनमा छैन, एमाले प्रतिपक्षी दल हो ।’
वर्तमान गठबन्धन निरन्तर चलोस्, जनता आन्दोलित हुनुनपरोस् भन्ने शुभकामना व्यक्त गर्दै सांसद बस्नेतले उक्त गठबन्धनमा एमालेको नाम नलिन चेतावनी समेत दिए ।
सांसद बस्नेतले भक्तपुर लगायतका खास जिल्लाको बजेट कटौंती गर्ने योजना बनाइदै गरेको जानकारी आएको बताउँदै भ्रष्टाचार रोक्ने र सुशासन रोक्ने गफ नदिन सरकारलाई आग्रह गरे ।
बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा तथा गृहमन्त्री बालकृष्ण खांडलाई मन्त्रालयको काम खुमलटार र बालुवाटारबाट गर्ने हो अनि सुशासनको कुरा गर्ने ? भनि प्रश्न गरे । उनले भने, ‘सरकारलाई बधाई कसरी भनौं, अर्थमन्त्रालयको काम खुमलटार र वालुवाटारबाट हुँदैछ । विकास र योजना आएन, प्रतिशोध र आक्रोस मात्र आयो । सदन छलियो, न सदनले चिनेको, न सरकारले चिनेको खड्का काजीलाई बाचन गर्न लगायो ।’
मुलुकको आर्थिक गतिविधिलाई चुस्त र प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी संहाल्नुुपर्नेमा आफ्नो पार्टीका नेतृत्व तथा कार्यकर्तालाई लक्षित गरी कार्यक्रम ल्याउनु अर्थमन्त्रीको गैरजिम्मेवारी भएको संकेत गर्दै सांसद बस्नेतले सरकारको साझा कार्यक्रम विकास र योजना नल्याई प्रतिशोध र आक्रोस मात्र आएको बताए ।
एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारलाई बधाई छ कसरी भनौं ? भनि प्रश्न गर्दै बस्नेतले भने, ‘व्यूँतिएको सदनको शून्य समयमा श्रद्धाञ्जली व्यक्त गरेर कछुवाको गतिमा हिडिरहेको छ । न विधेयक, न विजनेश, संसदहरु एक हप्तामा एक दिन आएर टाइमपास हुँदैछ ।’