काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ तथा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ पेश हुने कार्यसूची रहँदै गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्पूर्ण कर्मचारी ट्रेड युनियनहरु आन्दोलित बनेका छन् ।
प्रतिनिधि सभामा पेश भएका उक्त विधेयक सदनबाट पास भएमा भर्खरै सवल हुँदै गरेको प्राधिकरण टुक्रिएर बेथिति बढ्ने भन्दै कर्मचारीहरु सोमबारदेखि आन्दोलित बनेका हुन् । उनीहरुले आज प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा तालाबन्दी गरेर विरोध जनाएका छन् ।
विरोध कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव मीन खनालले देशभरिका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दै आएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चुङ्गुलमा पार्ने खेलले उक्त विधेयकहरु आएको बताए ।
उनले भने, ‘विशेष गरी अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले महंगो हवाई भाडा तिर्न बाध्य भइरहेको बेलामा नियमन निकाय कमजोर हुँदा मुनाफाखोरी अझै बढ्न गई यात्रुहरुले थप व्ययभार व्यहोर्नु पर्ने देखिएको छ ।’
यस्तै कर्मचारी ट्रेड युनियनका सदस्य सुजन भण्डारीले तत्कालिन हवाई विभागलाई स्वायत्त संस्थाको रुपमा रुपान्तरण गरी स्थापना भएको नेपाल नागरिक प्राधिकरणलाई नै थप सशक्त बनाई प्रभावकारी रुपमा नियमन कार्य र आम जनतालाई सुलभ दरमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्भव रहेको बताए ।
आन्दोलिन कर्मचारीहरुले अत्यन्तै संवेदनशील नागरिक उड्डयन क्षेत्रमा समग्र राष्ट्रहित प्रतिकूल रहेको विधेयकहरु फिर्ता गराउने उद्देश्यले प्राधिकरणका आम कर्मचारीहरुले बाध्यतावश गरिरहेको आन्दोलनमा समस्त पेशागत संघ,संस्था, मिडियाकर्मी एवं नागरिक समुदायबाट सहयोग गर्ने अपिल समेत गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ तथा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ पेश हुने कार्यसूची रहेको छ ।