काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले एक वडा एक पार्क निर्माणको नीतिअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली बढाउने र पार्क बनाउने प्राथमिक योजना कार्यान्वयनमा जोड दिएको बताएका छन् ।
काठमाण्डौं महानगरपालिका वडा नम्बर ५ भत्केको पुल नजिक आज नर बुद्ध पार्कको शिलान्यास गर्दै शाक्यले काठमाडौं महानगरपालिकाले अहिलेसम्ममा साना–ठूला गरेर करिब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए । शाक्यले भने, ‘सार्वजनिक जग्गा धेरै भएका ठाउँमा धेरै योजना छन् । पार्क निर्माणसँगै सम्पदा निर्माण, पुननिर्माणको काम हाम्रो प्राथमिकताका योजना हुन् । भौतिक संरचना महानगरले बनाएपछि त्यसको व्यवस्थापनमा स्थानीयले स्वामित्व लिनुपर्छ । अनि मात्र विकासको दिगो उपयोग हुन्छ ।’
सो कार्यक्रममा वागमती प्रदेश सभा सदस्य नारायण सिलवाले हाँडीगाउँदेखि कपन नीलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताए । स्थानीय र जनप्रतिनिधिको एउटै चाहना भए यो सम्भव हुने उनको भनाइ थियो ।
यस्तै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौ महानगरपालिकाको पार्क निर्माण र हरियाली प्रबद्र्धन कार्यक्रमले सोझै नागरिकको जीवनसँग सम्बन्ध राख्ने बताइन् । अहिले गरिएका कतिपय कामले लामो समयपछि मात्र लाभ दिन्छन् । हामीले पहिले त नीतिगत प्रबन्ध मिलाउने प्रयास गरेका छौं । त्यसपछि अहिलेदेखि पछिसम्म महसुस हुने काम गरिरहेका छौं । उपप्रमुखले सम्पन्न कार्यकालको समीक्षा गर्दै भनिन् ।
‘व्यक्तिका हातमा पर्न लागेको करिब २ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा हामीले संरक्षण गरेका छौं । कानुनलाई छोडेको भए जग्गा बचाउन सकिने थिएन । जग्गा संरक्षणका विषयमा वडाध्यक्ष रमेश डंगोलले भने, ‘मालपोतका कर्मचारी आएका दिन हामीले रोहवरमा हस्ताक्षर गरिदिएको भए जग्गा व्यक्तिका नाममा दर्ता भइसक्थ्यो । हस्ताक्षर नगर्दा धम्की पनि आए । सहयोग गर्न प्रलोभन पनि देखाइए । हामीले सबैका बाबजुद जनताको चाहनाबमोजिम जग्गालाई सार्वजनिक बनाउन सक्यौं ।’
कार्यक्रममा नरबुद्ध विहारका प्रमुख भिक्षु पूर्ण स्थविर भन्ते, पञ्जारत्न स्थविरलगायतले सार्वजनिक जग्गालाई समुदायले भोग चलन गर्न पाउने भएपछि आफूहरुमा प्रशन्नता बढेको बताए ।
पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत करिब १ करोड ४८ लाख रुपैयाँ हो । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी निर्माण हुनेछ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौताराहरु पनि रहने छन् ।
पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहनेछ । यस्तै १५ फिट गोलाइको फाउन्टेनसहितको पोखरी बन्नेछ । व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु पार्कमा सजिलै आउने, बस्ने र हिँडडुल गर्न सक्ने खालका भौतिक संरचना बनाइनेछन् ।
पार्कको सबैभन्दा महत्वपूर्ण विशेषता अभय मुद्राको बुद्ध मूर्ति हो । स्थानीय वीरेन्द्र प्रजापति भन्छन्, ‘अहिलेसम्म हामीले बसेका बुद्ध मात्र देखेका छौं । यहाँ उभिएका बुद्ध देख्नेछौँ । सम्भवत काठमाडौंमा अभय मुद्राको ठूलो बुद्ध मूर्ति यही नै हुनेछ ।’