काठमाडौं । देशका विभिन्न भागमा पानी पर्ने भएकाले आज केही नदीहरुमा पानीको वहाब बढ्ने जनाइएको छ । कोशी, कर्णाली, कन्काई, वाग्मती, पूर्वीराप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायतमा वहाब सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ ।
कोशी, कर्णाली र यिनका सहायक नदीहरुमा आज बहाव बढ्ने छ भने नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्ने छ ।
वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, र चितवनमा तथा गण्डकी प्रदेशको म्याग्दी, बागलुङका नदी तथा खोलामा वहाब बढ्ने विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, कपिलवस्तु, दाङ र बाँकेका नदी तथा खोलामा तथा कर्णाली प्रदेशको दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लाका नदी तथा खोलामा पानीको बहाव बढ्ने छ ।
सुदरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागको आग्रह छ ।