काठमाडौं । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेसनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो ।
स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । उनका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । पाँचखाल नगरको आइसोलेशनमा पाँच सङ्क्रमित उपचाररत छन् ।
जिल्लामा दैनिक सङ्क्रमणदर बढिरहेको तर थोरै मात्रामा कोरोनामुक्त हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन् । साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन् ।
जिल्लामा हालसम्म १३ हजार ९३ मा सङ्क्रमण देखिएकामध्ये १७८ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३३ कोरोना दोस्रो लहरका हुन् । जिल्लाका अस्पतालमा समेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । हाल जिल्लामा एक हजार ८४२ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा २०५, धुलिखेलमा १६५, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुर मा ४७ तथा रोशी २१, चौँरीदेउरालीमा तीन, तेमालमा आठ, भुम्लुमा २१, बेथानचोकमा नौ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये हाल खानीखोला गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको छ ।