काठमाडौँ । काठमाडौँ महानगरले सञ्चालन गरेको क्षेत्रपाटी कोविड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोविड संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । ‘साउन १ गतेबाट नरदेवी आयुर्वेद चिकित्सालयको एचडीयुसहितको सेन्टरमा विरामी भर्ना लिन छोडिएको छ ।
साउन अन्तिमबाट छत्रपाटी कोविड विशेष अस्पतालको सेवा स्थगन गर्ने निर्णय भएको हो ।’ निर्णयका बारेमा जानकारी गराउँदै प्रमुख शाक्यले भने, ‘अहिले अस्पतालमा विरामीहरुले सहजै उपचार गराउन पाउने भएकोले आइसोलेसनमा भर्ना हुन आउनेको संख्या कम छ । भोलि आवश्यक परेको बेला सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको हो ।’ उनकाअनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । ‘सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ ।’
कोविड संक्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामका लागि महानगरसँग सम्झौता गरेर कोविड उपचारका लागि उपकरण तथा सामाग्री खरिद गर्ने सरकारी र सामुदायिक अस्पतालहरुको विलबमोजिमको भुक्तान भएको रकम अनुमोदन गरेको छ भने भुक्तानी हुन बाँकीलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले स्थानीय तह संस्थागत स्वमुल्याङ्कन प्रतिवेदन अनुमोदन गरेको छ । प्रतिवेदनअनुसार महानगरले समग्र स्थितितर्फ ८८.१० प्रतिशत, प्रक्रियागत स्थितितर्फ ८५. २९ प्रतिशत र परिमाणात्मक स्थितितर्फ ६७.७८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यसैगरी ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ७ अङ्क पाएको छ । ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९ अङ्क, ११ अङ्कको वित्तिय एवम आर्थिक व्यवस्थापनमा १० अङ्क पाएको छ । १० अङ्कको सामाजिक समावेशीकरणमा ५ अङ्क, १६ अङ्कको सेवा प्रवाहमा ११.५ अङ्क, ७ अङ्कको न्यायिक कार्यसम्पादनमा ६ अङ्क पाएको महानगरले १३ अङ्कको भौतिक पूर्वाधारमा ८ अङ्क पाएको छ ।
९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अङ्क र ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क नै प्राप्त गरेको छ ।
बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा महानगरले आ. व. ०७६/०७७ मा सम्पादन गरेका कामको यो स्व—मूल्याङ्कन हो ।
बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेद्य निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।
यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धी कार्यविधि ०७७ का केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणी सरह बनाएको छ । यस्तै नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीहरुलाई काम गरेका दिनमा खाना, खाजा र यातायातवापत १ हजार ५ सय रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि पदाधिकारी पदावधि नतोकिएकोमा संशोधन गरे २ बर्ष हुने व्यवस्था गरिएको छ ।
कानुनी सल्लाहकार, करार सेवामा रहेका कर्मचारी, सामाजिक परिचालकको ६ महिना म्याद थप भएको छ । बैठकले सहायक स्तर पहिलो छैटौँ स्तरका कर्मचारीको तलबमान निर्धारण गरेको छ । यस्तै सहायक स्तर पहिलो तहका कार्यालय सहयोगी, कुचीकार र हेल्परमध्ये सवारी चालक अनुमति प्राप्त कर्मचारीलाई हलुका र भारी सवारी चालकका रुपमा सेवा परिवर्तन गर्ने निर्णग गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीकाअनुसार सेवा परिवर्तन गर्ने कर्मचारीहरु यस अघि कुनै न कुनै रुपमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।
बैठकले वडा १६ र १७ क्षेत्रमा जडान भएको सौर्यवत्तीको कम भेरिएसन स्वीकृत गरेको छ । यो विषय राख्नका लागि प्रमुख शाक्यले पूर्वाधार विकास विभागका प्रमुख राम थापालाई समय दिएका थिए । थापाकाअनुसार बत्ती र पोल जडान गर्नु पर्नेमा १५६ वटा पोल पुनःप्रयोगमा ल्याउन सकिएकोले अनुमान गरिएको लागतमा करिब १९ प्रतिशत कममा काम सकिएको थियो । वैठकले सडक सूचना बोर्ड राख्ने विषयमा यस अघि रोकिएको प्रक्रिया अगाडि बढाउन आशय पत्र माग गर्ने निर्णय गरेको छ । यसै गरी विविधमा छलफल गर्दै फुटकर जिन्सी सामाग्रीको दररेट स्वीकृत गरेको छ । गएको बर्ष ५२८ प्रकारका फुटकर सामाग्री सूचीकृत थिए । माग भएका अन्य सामाग्रीहरुको सूची थपेर यसपटक ५५३ सामानको दररेट स्वीकृत गरिएको हो । यसमध्ये गएको बर्ष सूचीकृत सामान त्यही बर्षको दररेटमा र थपिएका सामानको जिल्ला दररेटले तोकेको रेटलाई स्वीकृत गरिएको हो ।