काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाए पनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएका हुन् ।
उनले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताए।
‘मलाई अब अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको हो। मैलेचाहिँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु, उनले भने, म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भरपर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो। टेक्निकल मेरो फिल्ड हो। प्लानिङ पनि गर्छु। धेरैवटा प्लानिङ गरेको छु। आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु।’
कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुनेगरी काम गरेको बताए। अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत् आपूर्ति रोकिएको उनले बताए। अस्पतालहरुलाई विद्युत् नजानेगरी बस्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारे।
यसबीचमा ढल्केबर ४०० केभी सबस्टेसनलाई नेपाल-भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती-ढल्केवर २२० केभी सञ्चालन गरेको, अपर तामाकोसीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपटक सात ग्रिडको विद्युत् पुर्याएको उनले बताए।
शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए। घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १.६ प्रतिशत चुहावट बढेको उनले बताए। आगामी दिनमा प्रसारणलाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए।