काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका छन । संयोग यो मिलेको छ, नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्डविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करियरबाट विदा लिने निर्णय लिएका छन्। सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन ।
डेढ दशक भन्दा बढि समय क्रिकेटसँग साइनो गासेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन । उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पायो । त्यो समय खड्काले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए । २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पाएको थियो । त्यो समय पनि उनकै नेतृत्वमा नेपाली टोलीलाई एक दिवसीयको मान्यता हात लागेको थियो । उनै सफल कप्तानलाई मंगलबार अन्तर्राष्ट्रिय खेल करियरबाट विदाई मागेका हुन ।
नेपाली क्रिकेटको सर्वोच्च निकाय, नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) बाट निलम्बन हुँदा अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी बहन गर्दै नेपाली क्रिकेटलाई अगाडि बढाएका थिए । सन २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका अलराउन्डर पारसले सन २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए ।
उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोली सम्म स्थान बनाएका खड्काले बंगलादेशमा २००४ मा भएको आईसिसि यु–१९ विश्वकप क्रिकेट खेलेका थिए । सोही वर्ष मलेशियाविरुद्धको खेलमा आईसिसि इन्टरकन्टिनेनटल कपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।
विश्व वरियतामा नेपाल अहिले १२ औं स्थानमा छ । नेपालले एक दिवसीय मान्यता पाएको छ । नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन । किन भने एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुबैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन ।
२०१९ मा यूएईविरुद्धको खेलमा पारसले करियरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । सोही वर्ष सिंगापुरविरुद्ध टी–२० आन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो खेलाडी बनेका थिए । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन। खड्काले १० खेलबाट ३ सय १५ रन जोडेका छन । टी–२० अन्तर्राष्ट्रियमा ७ सय ९९ र ट्वान्टी–२० मा ५६ खेल खेल्दा १ हजार ३ सय ७७ रन बनाएका छन ।