काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकारले कोरोनाविरुद्धको खोप सर्वसाधारण नागरिकलाई भन्दा आफ्ना नेता कार्यकर्ताहरुलाई प्राथमिकतामा राखेर वितरण गरेको आरोप लगाएका छन् ।
बस्नेतले कांग्रेस नेता, कार्यकर्ता र होटलमा समेत खोप लुकाइएको तर सर्वसाधारणले दिनभरि लाइन बस्दा पनि खोप लगाउन नपाएको बताए ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले भने, ‘प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप, कांग्रेस मेयरको घरमा खोप, उपसभापतिको घरमा खोप, होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपै खोप, जनता दिनभरि लाइनमा खोप न सोप ।’
बस्नेतले भारतीय एसएसबीले तुइन काट्दा जयसिंह धामी महाकालीमा बेपत्ता हुँदा पनि सरकार मौन बस्नु दुःखद् भएको बताउँदै भने, ‘एसएसबिले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाऔ ।’
बस्नेतले कोही नपाएर देउवाले व्यापारीलाई मन्त्री बनाउन बाध्य भएकोमा कटाक्ष गर्दै सरकार दक्ष सचिवलाई फेर्न र स्वास्थ्य माफियालाई संरक्षण गर्न लागिपरेको आरोप लगाए । उनले भने, ‘विचरा सरकार व्यापारी मन्त्री बनाउँछ, दक्ष सचिव फेर्छ, बीर हस्पीटलको एमडि फेर्छ, स्वास्थ्य माफियालाई संरक्षण गर्छ ।’
देशभरि पीडित जनताहरु राहत पाइएन भनेर गुनासो गर्दा पनि सरकारले वास्ता गर्न नसकेको बस्नेतले बताए । उनले सत्ता गठनबन्धन पार्टीभित्र मतभेद सिर्जना भएको र मन्त्री पद नपाएका कारण सरकार गठन भएको तीन हप्तासम्म पनि मन्त्रीमण्डल विस्तार हुन नसकेको बताए ।
बस्नेतले भने, ‘माओवादी जसपा भन्दैछ, मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्नेभए, दिमागमा आतंक र भूकम्प ल्याए, परमादेशबाट गठन भएको सरकार तीनहप्ता भएछ, मन्त्रीमण्डल गठन भएन, न्यूनतम साँझा कार्यक्रम आएन ।’
बस्नेतले अदालतको पछिल्लो निर्णय पश्चात बेरोजगार भएका केही कानुन व्यवसायीहरुलाई अदालत पठाएर कुनै पनि पार्टीका नेतालाई मन्त्री बनाउन परमादेश जारी गराउन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यू अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस्, फलना पार्टीका फलाना व्यक्तिलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुस् ।
बस्नेतले जनादेशबिनाको सरकार धेरै समयसम्म चल्न नसक्ने बताउँदै जनताले अहिलेपनि केपी ओलीलाई नै मन पराएको जिकिर गरे । उनले भने, ‘जनादेश बिनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’