काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयरमा नियामक निकाय सेबोनकै अध्यक्षको संलग्नतामा भित्री कारोबार भएको कुरा बाहिरिएपछि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । बोर्डको कर्मचारी युनियनले विज्ञप्ति निकाल्दै भित्री कारोबारमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
कारोबारमा संलग्नता देखिएको भन्दै केही दिनअघि अर्थ मन्त्रालयले सेबोनका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोधेको थियो । युनियनले सञ्चालकको विचलनले पूरै संस्था नै बदनाम हुने काम गरेको भन्दै कारबाहीका लागि तत्काल सरकारले कदम चाल्नुपर्ने माग गरेका हुन्।
कर्मचारी युनियनका अध्यक्ष राजबहादुर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु सञ्चालकको विचलन हो ।’
विज्ञप्तिमा संचारमाध्यममा आएको भित्री कारोबारको विषयले बोर्डको इमानदारितामा नै प्रश्न उठेको उल्लेख गर्दै प्रतिष्ठामा आँच ल्याउने जोकोहीलाई कारबाही गरिनुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भित्री कारोबारमा संलग्नको नाम मात्रै हुनुपर्नेमा सेबोनको नाममा अर्थ मन्त्रालयले पत्र काटेको प्रति कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कुल गार्हस्थ्य उत्पादनबराबरको बजार पुँजीकरण भएको धितोपत्र बजार संरक्षण गर्ने नियामक निकायको सञ्चालको बदमासीले संस्थाको गरिमामा नै आँच आउने भन्दै यथाशीघ्र कारबाही गर्नुपर्ने माग राखेका छन्।
धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरूले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहँदैन।