मोरङ । जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ ।
मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।
मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नबर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ । निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन् । उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन् ।
एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् । मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउँछिन् । बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाउँ फर्किने गरेको उनले बताइन् । अन्य महिनाको तुलनामा बर्षाको ३ महिना निगुरो बढी पाईने गरेको उनले सुनाइन् ।
मधुमल्ला टाँडीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउँछिन् । बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उनले नियमितरुपमै निगुरो टिप्न खर्चिन्छिन् । निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको उनको भनाई छ ।
मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आएका मनबहादुर रसाईली पेशाले दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन् । पछिल्लो समय कोरोनाका कारण शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनको समेत निगुरो टिपेरै दैनिक गुजारा चलाई रहेका छन् । निगुरो टिपेरै सबै खर्च नचल्ने भएपनि भरथेगसम्म हुने गरेको उनको भनाई छ ।
जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित विक्रीका लागि राखिने निगुरो खरिद गरी लान्छन् । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । निगुरो प्राकृतिक रुपमै उम्रिने र हुर्किने भएकाले बिषादी र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।