काठमाडौं । झापामा कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरीएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार गएराति १२ बजेदेखि साउन २३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ ।
झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीय स्तरमा सिल गरिएका थिए । निषेधाज्ञा बमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ ।
काँकडभिट्टा बाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ । काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए ।
यस्तै, छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।
बजार, पसर, सिनेमा हल, पार्टीप्यालेस, स्वीमिङ पुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, पुस्तकालय, बन्द गर्न भनिएको छ भने कनै पनि प्रकारका सभा सम्मेलन नर्गन आग्रह गरीएको छ ।
जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।