भक्तपुर । कोरोना भाइरसविरुद्धको भेरोसिल खोप वितरणलाई व्यवस्थापन गर्न नसक्दा सूर्यविनायक नगरपलिका अस्पतालबाट प्रदान गरिने खोप सेवा स्थगित भएको छ ।
शनिवार विहानदेखि खोप लगाउन लाइन बसेका स्थानीयले सहज रुपमा खोप नपाएको भन्दै विरोध गरेपछि शुक्रबारदेखि जारी खोप कार्यक्रम स्थगित भएको हो ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले जिल्ला जनस्वास्थ्यले उपलब्ध गराएको खोपको मात्रा अपूग भएकाले माग अनुरुप व्यवस्थापन गर्न नसस्दा खोप कार्यक्रम स्थगित गरिएको बताए ।
उनले भने, ‘जिल्ला जनस्वास्थ्यले नगरपालिकाको प्रत्येक वडामा २ सय २० डोज खोप उपलब्ध गराएपनि हामीले ५० बर्षमाथिका कर्मचारी, अपाङ्ग र विशिष्ट सेवामा रहेकोमा हामीले पनि सोही अनुरुप सूचना जारी गरेका थियौं । आज शनिवार भएकाले पनि लगभग हजार जनाजति लाइनमा बस्नुभयो । हामीले खोपको अभावका कारण नै कार्यक्रम स्थगित गरेका हौं ।’
थापाले सूर्यविनायक नगरपालिका अस्पताल रहेको वडा भएकाले पनि वडामा खोपको माग बढी भएको बताए ।
नगरपालिकाले ५० बर्षमाथिका कर्मचारी, विशेष नगरवासीलाई उक्त खोप लगाउने व्यवस्था मिलाइएको सूचना जारी गरेपनि लक्षित समूह बाहिरका व्यक्तिलाई खोप वितरण गरिएको भन्दै स्थानीयले शनिवार अस्पताल परिसरमै आक्रोस व्यक्त गरे ।
लक्षित समूहका व्यक्तिहरु विहानदेखि नै खोप लगाउनलाई लाइन बसेपनि खोप लगाउन नपाएको गुनासो उनीहरुले गरे । उमेर हदलाई पहिलो प्राथमिकता दिनुपर्नेमा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुले समेत आफ्ना नातेदार तथा आफन्तहरुलाई खोप वितरण गरिएको भन्दै स्थानीयले आक्रोस पोखेको स्थानीय सानुकुमार खनालले बताए ।
यसअघि पनि सूर्यविनायक नगरपालिकाका विभिन्न वडाहरुमा कोरोनाविरुद्धको खोप वितरण गर्दा लक्षित समूहबाहिरका व्यक्तिहरुलाई खोप उपलब्ध गराइएको गुनासो गरिँदै आइएको थियो ।