ललितपुर । मुना बजारले आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा भैसीपाटी शाखा विस्तार गरेको छ ।
किसानले उत्पादन गरेको उत्पादनलाई सोझै उपभोक्ताहरुसम्म पुर्याउने उद्देश्यले मुना कृषि लिमिटेडको मुना बजारले आफ्नो पछिल्लो शाखा बिस्तार गरेको हो ।
गाउँबाट किसानहरुले उत्पादन गरेको अर्गानिक उत्पादनको सोझै उपभोक्ता समक्ष पहुँच विस्तार होस् भन्ने हेतुले खोलिएको उक्त बजारको शाखा यसअघि ललितपुरको इमाडोल, खोल्फुटार र सानेपामा खुुलिसकेका छन् ।
मुना बजारको नयाँ शाखा उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कृषि र कृषकलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै त्यसले कृषकलाई हौसला प्रदान गर्ने बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले स्थानीय तहसँग सहकार्य गरेर यस्ता बजारलाई विस्तार गर्नुपर्ने बताए ।
सोही अवसरमा कृषि तथा पशुपक्षि विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले नेपालमा उत्पादित कृषि वस्तुको बजारीकरण गर्दा गुणस्तर र मूल्यमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । सोमबार ललितपुरको भैँसेपाटीमा खुलेको मुना बजारको उद्घाटन गर्दै उनले मुना बजारमा आइसके पछि उपभोक्ताले अरू बजारमा भन्दा गुणस्तर र कम मूल्यमा सामान पाइने रहेछ भन्ने मानसिकताको विकास हुने गरी काम गर्न पनि आग्रह गरे ।
साथै उनले सिधै किसानहरूबाट उपभोक्ता माजमा उत्पादित वस्तु पुग्ने भएकोले बिचौलियाको अन्त्य हुने बताए । ‘अब उपभोक्ता र किसानले बिचौलियाको सामना गर्नु पर्दैन । सिधै किसानले उत्पादन गरेको वस्तु उपभोक्ताले लिन पाउने भए’ उनले भने , ‘नेपालमा उत्पादित वस्तुले बजार पाउनु पर्यो । यो राम्रो कामको सुरुवात भएको छ ।’
मुना बजारमा हुम्ला, जुम्लाका चामल लगायत रैथाने जातका गेडागुडी लगायत औषधिको गुण भएका जडिबुटीहरु तथा तरकारी, फलफूलपनि पाइने मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले जानकारी दिए । मुना बजारले किसानको उत्पादनलाई उचित मूल्य दिई आफैं संकलन गरेर सफाई, ग्रेडिङ, प्योजिङ, कुटानी पिसानीको काम गर्ने गुरुङले बताए । उनले यो बजारलाई विस्तार गर्दै लग्ने जानकारी दिदैं ग्राहकको सेवा र सन्तुष्टि पहिलो प्राथमिकता भएको स्पष्ट पारे । स्थानीय उत्पादनलाई प्राथमिकता दिएको बताए ।
गुरुङले मुना बजारले सिधै किसानदेखि कृषि वस्तु किनेर उपभोक्ता सम्म पुर्याउने काम गरेको बताए। नेपालको कृषिलाई सम्मानित पेसा र भविष्यको आस लाग्दो व्यवसायको रूपमा स्थापित गराउन मुना बजारले विशेष गरेर नेपालमा उत्पादित कृषि वस्तुलाई मात्र प्राथमिकता दिने पनि उनले बताए ।
नेपालमा उत्पादित कृषि वस्तुको खपत बढाउन नेपालमा उत्पादित वस्तुको बारेमा हरेक उपभोक्तालाई जनचेतना जगाउन आवश्यक रहेको पनि उनले बताए ।
बजार सुरु गरेको ९ महिनामा ५३ जिल्लाबाट कृषि वस्तु ल्याउन सुरु गरिएको छ । अब चाडै ७७ वटै जिल्लाको नौलो कृषि वस्तुहरू बजारमा ल्याउने पनि उनले बताए । अहिले मुना बजारको शाखाको रूपमा ४ ठाउँमा सञ्चालन गरिएको छ ।
फोटोः रमण मानन्धर