प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको महासमिति बैठक आइतबार सकियो । मंसिर २९ गतेदेखि तीन दिनका लागि राजधानीमा बोलाइएको बैठक ९ दिनसम्म चल्यो । मंसिर ९ गतेदेखि पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संशोधिन विधानमा सहमति जुटाउन नसकेपछि महासमिति मार्फत् सहमति खोज्ने प्रयास गरियो । तर, त्यो सफल हुन सकेन । पुनः केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकले विधानमा सहमतिको प्रयास थाल्यो । अन्ततः शनिबार लामो रस्साकस्सीपछि विधानमा सहमति जुट्यो ।
केन्द्रीय कार्यसमितिले विधानमा सहमति जुटाउन नसकेको भन्दै महासमिति सदस्यहरु समेत आक्रोशित बने । बैठकमा बोल्ने अधिकांश नेताहरु पार्टी सभापतिको कार्यशैली विरुद्ध खनिए । कतिले नेतृत्वको आलोचना गरे । महाधिवेशनपछिको बलियो महासमिति भने केन्द्रीय कार्यसमितिले घुमाइरह्यो । सभापति शेरबहादुर देउवाले आफू विरुद्ध खनिएका इतरपक्षका नेताहरुको विभाजन गर्न मुख्य भुमिका खेलेका बिषय बाहिरिए । पार्टीको अनपेक्षित हारको जिम्मा लिन संस्थापन र इतर दुवै पक्ष सहमत थिएनन् । नेतृत्वको बढी जिम्मेवारी हुनुपर्ने भन्दै इतरपक्षका नेताहरुले महासमितिको माहोल आफ्नो पक्षमा पार्ने प्रपञ्च गरे । तर सभापति देउवा अन्ततः बलिया सावित भए । वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुनमा महाधिवेशन बोलाउनुपर्छ भन्ने प्रस्तावले कुनै असर गरेन । यिनै विविध बिषयमा रहेर कांग्रेसका केन्द्रीय सदस्य तारानाथ रानाभाटसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरेका छौ ।
१. नेपाली कांग्रेसको महासमित बैठक सकियो ? अबको कांग्रेसको मिसन के हुन्छ ?
नेपाली कांग्रेस मुलुकमा अल्पमतमा भएपनि यसको लोकप्रियता कायमै छ । विगतदेखि बोक्दै आएका अडान, सिद्धान्तकै कारण कांग्रेसको छविमा कुनै असर परेको छैन । पछिल्लो समय मुलुकमा विद्यमान दुई तिहाईको सरकारका कामप्रति जनता निकै निराश भएका छन् । यो सरकारलाई सही दिशा दिन र खबरदारी गर्न मुख्य भुमिका कांग्रेसको जिम्मामा छ । अलोकप्रिय सरकारका काम कारवाही सन्तोषजनक छैनन् । अबको कांग्रेस परिष्कृत बन्नुपर्छ । बीपीको सिद्धान्तलाई आत्मसात गर्दै अगाडि जानुपर्छ । मुलुकमा देखिएको विखण्डनलाई कांग्रेसले चिर्नुपर्छ । अहिलेको नेतृत्व युवाकै हातमा रहेको छ । सही ढंगले अगाडि जान पार्टीलाई सुझाव दिन्छु ।
२. महासमितिको रौनक देखिएन हैन् यसपाली ?
महासमितिको रौनक यस्तै हो । पार्टीको आन्तरिक कारणले केही विवाद देखिए । भिन्न मतसहित नेताहरु प्रस्तुत भए । पछिल्लो समय गुटगत राजनीतिले प्रभाव पारेको पनि देखियो । तर, यतिको रौनक स्वभाविक थियो ।
३. केन्द्रीय कार्यसमितिले नै महासमिति जस्तो बलियो कांग्रेसको बैठकलाई फनफनी घुमाइरह्यो नी ?
मिडियामा आएका सबै कुरा सत्य छैनन् । मैले अगाडि नै भने पार्टी भित्रको विवादले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुले महासमिति सस्यहरुलाई रनभुल्ल पारेका हुन् । विधानको बिषयले नै महासमितिमा विवाद देखिएपछि सबैको ध्यान केन्द्रीत भएको हो । तपाईले पनि परिदृष्यमा देखिसक्नुभयो ।
४. सभापति देउवाको चातुर्यता भन्दा फरक पर्ला र ? जस्तो की उहाँले चाहेको भए मंसिर ९ देखि जारी केन्द्रीय समिति बैठकमै सहमति जुट्न सक्थ्यो ? त्यसपछि उहाँसँग महासमितिमा प्रस्तुत गर्ने एजेन्डा थिएनन्, महासमिति सदस्यलाई अल्मल्याउने सजिलो उपाय थियो हैन यो ?
यसमा मेरो भनाई छैन । एउटा ठूलो पार्टीमा सभापतिले पदस्थापन भइराख्न सामान्य जुक्ति लगाउनु स्वभाविक हो । उहाँले विवेक प्रयोग गर्नुभयो होला । महासमितिमा एजेन्डा थिएनन् भन्ने होईन, लामो समयपछि पार्टीको विधान संशोधन गर्नुपर्ने बिषय सामान्य होईन । सबैका राय सुन्नुपर्ने हुन्छ । त्यो क्षमता राख्नुपर्दछ । सभापतिले त्यही गरेको लागेको छ । नेपाली कांग्रेसको यो तेस्रो महासमिति थियो । सभापतिका लागि पनि सुसम्पन्न गर्न चुनौतिपूर्र्ण नै थियो ।
५. कांग्रेस इतरपक्षको दबाबै दवावकाबीच महासमिति मार्फत् बलियो भएर उदाउनु भयो नी सभापति देउवा ?
त्यो बिषयलाई धेरै प्राथमिकता नदिउँ । उहाँ अहिलेका लागि सभापति हो भोली नेता हो । अर्को नेतृत्वपनि उदाउँछ । महत्वपूर्ण बिषय विधान हो । विधान संशोधनमा लामो बहसपछि सफल भइएको छ । त्यो कांग्रेसका लागि उपलब्धिपूर्ण हो । अबका दिनमा कांग्रेस सशक्त बन्नुपर्छ ।
६. यहाँलाई थाहा छ, चीनमा माओको शासन आउनुभन्दा अगाडि कोमिङताङ ठूलो बलियो शक्तिशाली पार्टी थियो ? बीपी पनि भन्नुहुन्थ्यो नेपाली कांग्रेस कोमिङताङ नबनोस् है नेतृत्व राम्रोको हातमा जाओस्, तर, पछिल्ला गतिविधिले कतै पार्टी कोमिङताङ त बन्दैन ?
त्यसका लागि पनि सीमाना पारीकै उदाहरण दिनु पर्दैन । नेपालमै तत्कालिन राष्ट्रिय प्रजा परिषद् थियो । अहिले उसको नाम निशाना हरायो । चीनको शक्तिशाली पार्टी थियो– कोमिङताङ । चिनियाँ कम्युनिस्ट पार्टी उदाएपछि हराएको हो । यो अवस्था नेपालमा आउँदैन । कांग्रेस सबैको मनभित्रको पार्टी हो । यो पार्टीमात्र नभई सिंगो मुलुकको अभिभावक पनि हो । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा कांग्रेसको भुमिका महत्वपूर्ण छ । २००७ सालदेखि आएर हालसम्म हेर्नुस राष्ट्रियताका बिषयमा झुकेको इतिहास छैन ।
७. अन्तमा, सरकारको समिक्षा गरौँ, यहाँहरुले त अधिनायकवादको जड भन्नुभएको छ नी नेकपा सरकारलाई के देख्नुभयो त्यस्तो ?
दैनिक बढेका हत्या हिंसा, अपराध, बलात्कारलाई यो सरकारले प्रसय दिएको छ । न्युनिकरण गर्नुको साँटो अपराधीलाई लुकाएर राखेको छ ।
८. नेकपा सरकारले भन्या हो बलात्कार गर्नु भनेर ?
तपाईंले क्रस प्रश्न गर्नुभयो । मैले त्यस्तो भन्न खोजेको होईन । आपराधिक क्रियाकलापमा संलग्नहरु पक्रिन ढिलाई भयो । जनताले न्यायको अनुभुति गर्न पाएनन् भनेको हो । तपाई देख्दै हुनुहुन्छ निर्मलाको हत्यारा भन्दै निर्दोषले सजाय पाइरहेका छन् । यसको उचित निकास सरकारले दिन सक्नुपर्छ ।
अन्तरवार्ता सुन्न तल क्लिक गर्नुहोस्ः–