तीन तहको निर्वाचन सम्पन्न भएको लामो समयपछि मुख्य राजनीतिक दल यति बेला आन्तरित समिक्षामा जुटेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि बैठकमार्फत सरकार र पार्टी एकीकरणको एजेण्डामा छलफल गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भर्खरै महासमिति बैठक सकिएको छ । दुवै दलको साझा छलफल भनेको भद्रगोल बनेको पार्टीको सांगठनिक स्वरुपलाई कसरी व्यवस्थित बनाउने र राष्ट्रिय राजनीतिमा कसरी अघि बढ्ने भन्ने बिषयमा केन्द्रित छ । विचार विमर्शलाई हेर्दा खेरी दुवै दल आन्तरिक विवाद र गुटबन्दीमा झागिएको प्रस्ट देखिन्छ ।
यही अवस्था मधेशको एउटा शक्ति राष्ट्रिय जनता पार्टी नेपालमा समेत देखिन्छ । मधेशको बलियो शक्तिको रुपमा आफुलाई स्थापित गरेका राजपा नेपाल पछिल्लो समय भद्रगोल सांगठनिक अवस्था र राष्ट्रिय राजनीतिमा किनाराकृत भएको एजेण्डाबाट सुस्त अवस्थामा छ । यिनै बिषयमा हामीले राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवसंग मधेश केन्द्रित दलले उठाउदै आएको संविधान संशोधनको मुद्धा, सरकारका पछिल्ला काम कारबाही र राजपाको आन्तरिक पार्टी संघर्षको बिषयमा गरेको कुराकानीेको सम्पादित अंश प्रस्तुत गर्दैछौ ।
१) वर्तमान सरकारलाई विश्वासको मत दिएको राजपाले सरकारको गतिविधिलाई कसरी लिएको छ ?
राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारसँग धेरै आशा अपेक्षा गरेको थियो । हामीलाई मात्र होइन नेपाली जनतालाई समेत लागेको थियो । तर, यो सरकार आफै अन्यौलमा परेको छ । जनताको आशा भरोसा पुरा गर्न नसकेर आफैभित्र अल्झिएको छ । सरकारको ९ महिने कार्यकाल हेर्दा जनताको आशा भरोसा जित्न सकेको देखिदैन । सरकारको चिन्ताजनक स्थित छ । विगतको सरकार भन्दा वर्तमान सरकारको केहि फरक काम कर्तव्य हुनुपथ्र्याे त्यो हुन सकेको छैन ।
२) दुई तिहाईको वर्तमान सरकारको कार्यशैलीप्रति जनता प्रभावित भएनन् जस्तो लाग्छ तपाईलाई ?
वर्तमान सरकारले कार्ययोजना बनाएर अगाडि बढ्नुपथ्र्यो त्यसरी अगाडि बढेन । बाहिर दुई तिहाईको सरकार भनेपनि पार्टीभित्र भने आन्तरिक समस्या ठुलो छ । सरकार आफ्नै पार्टीको आन्तरिक लडाइमा फसेका छ । सरकार राष्ट्रिय भन्दा पनि आन्तरिक प्रतिस्पर्धामा बढी केन्द्रित भयो । पार्टीको आन्तरिक विवाद, मन्त्री चयन र नेपालको भुराजनितिले सरकारभित्र समस्या बनाएको छ ।
३) तपाईले त प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न चरणमा वार्तामा बसिरहनु भएको छ, प्रधानमन्त्रीको कार्यशैली कत्तिको प्रभावकारी हुन सक्यो जस्तो लाग्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीको लामो राजनीतिक इतिहास छ । तर, उहाँ राष्ट्रको प्रधामन्त्री भइसकेपछि सबैलाई मिलाएर अगाडि लैजानुपथ्र्याे त्यसो गर्न सक्नु भएन । उहाँले सबैसँग समन्वयकारी भुमिका निभाउन सक्नु भएन । पार्टी भित्र, बाहिर सबैलाई मिलाएर लैजाने, पार्टी भित्रको फरक विचार व्यवस्थापन गर्ने भुमिका खेल्न सक्नुभएन । आफु भन्दा फरक मत राख्नेलाई पेलेर सिध्याउने कार्यशैलीमा जानुभयो । त्यसैले पनि प्रधानमन्त्री ओलीको कार्यशैली प्रभावकारी हुन सकेन ।
४) नेकपाको स्थायी कमिटिमा समेत सरकारको आलोचना भइरहेको छ, जनमत सरकारलाई असफल बन्ने छुट छ ?
प्रधानमन्त्री भनेको नेता हो । उहाँको चिन्तन, उहाँको गाइडलाइन अनुसार अरु मन्त्रीहरुले काम गर्ने हो । प्रधानमन्त्री ज्यूको अभिव्यक्ति शुरु देखि नै गलत भयो । उहाँ अरुलाई समाप्त पार्ने मनोविज्ञानमा लाग्नुभयो । आफु भन्दा फरक मत राख्नेलाई कसरी हुन्छ सिध्याउन तर्फ उहाँको ध्यान केन्द्रित भयो । त्यसैले पार्टीभित्र उहाँ आलोचित बन्नु भएका हो । सरकार असफल बन्ने छुट छैन तर, प्रधानमन्त्री ज्यू असफल बन्दै जानुभयो ।
५) प्रतिपक्षीदल नेपाली कांग्रेसले त वर्तमान सरकारले काम गर्न सकेन भनि सकेको छ, सरकारको नेतृत्वको समिक्षा गर्ने बेला अब कहिले आउँछ त ?
नेकपाको स्थायी कमिटीभित्र पनि नेतृत्वकै बारेमा छलफल भइरहेको छ । नेतृत्वले काम गर्न सकेन भन्ने नै हो । यो त उहाँहरुको आन्तरिक पार्टीको कुरा हो । नेपाल यतिखर नयाँ कोर्षमा जानुपथ्र्यो तर, सरकार स्थिर भयो अगाडि बढ्न सकेन ।
६) त्यसो भए निराश भइहाल्ने अवस्था हो ?
अवस्था चिन्ताजनक छ । निराश भन्दा पनि चिन्तन गर्नुपर्ने बेला हो । विगतको कामकारवाहीमा कहाँनिर त्रुटि भयो भनेर त्यसलाई सच्याउन तर्फ लाग्नुपथ्र्याे तर सरकारले विगतलाई फर्केर हेर्न चाहेन । कसरी जनताको हितमा काम गर्न सकिन्छ भन्ने कार्ययोजना नै बनाएको छैन ।
७) संविधान संशोधनको सर्त राखेर वर्तमान सरकारलाई मत दिनु भएको थियो, सरकार गठन भएको लामो समयसम्म पनि संविधान संशोधनको विषय अगाडि बढ्न सकेन राजपाले कसरी लिएको छ ?
संविधान संशोधन गर्न दुई तिहाईको सरकार चाहिन्छ । त्यो दुई तिहाई नेकपामा छ भने हामीले संविधान संशोधनको सर्त राखेर समर्थन गरेका थियौ । तर, सरकारले अहिले संविधान संशोधनको कुरा त पर जाओस् संविधानको विषयमा समेत गम्भीर चर्चा गर्दैन । सरकारले हाम्रो समर्थनलाई कमजोरी ठान्यो । हामीले सरकारको अपमान सहेर पनि अगाडि बढ्न तयार भयौ । प्रधानमन्त्री ओलीको सुखी नेपाली र समृद्ध नेपालको नारा दार्शनिक रुपमा त्रुटिपूर्ण थियो । नेपाली जनताले सुखीको अनुभुति नै गर्न पाएका छैनन् । नेपाली जनता ठगिएको छ । अब हामी सरकारको बारेमा गम्भीर प्रकारले चर्चा र समिक्षा गर्न थालेका छौ ।
८) संविधान संशोधनको मुद्दा राष्टिय राजनितिबाट अब किनाराकृत भएको हो ?
किनारा भएको होइन । दुर्घटना आउनु भन्दा पहिला साइलेन्सको वातावरण हुन्छ । संविधान संशोधन राष्ट्रिय आवश्यकता हो । संविधान कागजमा लेखेर मात्र हुँदैन जनताले प्रत्याभुत हुने हुनुपर्छ । अहिलेको सरकारले यो विषयलाई गम्भीर रुपमा बुझ्न चाहेको छैन । यसको परिणाममा मुल केन्द्रविन्दुमा आएर समस्या हुन सक्छ ।
९) संविधान संशोधनको विषयलाई अगाडि बढाउन नसक्नु राजपा पार्टी भित्रको आन्तरिक गुढबन्दीले त होइन ?
मिडियामा आएजस्तो रापजा पार्टीभित्र समस्या छैन । हामी वैचारिक बहसमा केन्द्रित छौ । हामीले आफ्नो विगतको राजनितिक क्रियाकलाप र काम कारवाहीको कुरालाई समिक्षा गरिरहेका छौ ।
अन्तरवार्ता सुन्न तल क्लिक गर्नुहोस्ः–