काठमाडौं । कोरोना भाइरसको संक्रमण (कोभिड–१९) ले विश्वव्यापी रुपमा पत्रकारको भौतिक, शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव परेको यसका सरोकारवालाहरुले बताएका छन् ।
नेपाल पत्रकार मञ्च र कोरियाको नामसोल विश्वविद्यालयले ‘कोभिडका बाबजूद खुशी रणनीति’ बिषयक शैक्षिक अन्तरक्रियात्मक भर्जुअल कार्यक्रममा सहभागी विज्ञ तथा सञ्चारकर्मीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले कोभिड–१९ का कारण नेपालका सयौं पत्रकारहरु शारीरिक र मानसिक रुपमा समेत प्रभावित भएको बताए । बिष्टले भने, ‘कोभिड १९ का कारण नेपालका सयौं पत्रकारहरु बेरोजगार हुने अवस्था सिर्जना भएको छ । यो अत्यन्तै दुःखद् पक्ष हो ।’
कुनैपनि बाहनामा श्रमजीवि पत्रकारहरुलाई रोजगारीबाट विमुख बनाइनु गतल भएको टिप्पणी गर्दै अहिलेको बिषम परिस्थितिमा पत्रकारहरु भौतिक, आर्थिक र मानसिक रुपमा समेत असुरक्षित रहेको बिष्टले बताए ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवं नेपाली टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतले कोभिडका कारण महिला पत्रकारहरु झनै जोखिममा परेको बताइन् । उनले भनिन्, ‘स्वभाविक रुपमा महिलाहरु आफ्नो व्यवसायिक जिम्मेवारीका साथै पारिवारिक रुपमा समेत जिम्मेवार हुने भएकाले उहाँहरुमाथि कोभिडका बेला जिम्मेवारी थपिएको छ ।’
कोभिडकै कारण कतिपय अवस्थामा घरायसी आर्थिक समस्या देखिएका कारण परिवारभित्र विभिन्न खालका हिंसात्मक गतिविधिले समेत प्रश्रय पाएको चटौतको तर्क थियो ।
सोही कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोभिड–१९बाट प्रभावित पत्रकारहरुलाई राज्यले ध्यान दिन नसकेको बताए । उनले भने, ‘यस्तो जटिल परिस्थितिमा अग्रभागमा क्रियाशील रहेर समाजलाई सुसूचित गर्ने कार्यमा लाग्ने पत्रकारहरुलाई खोप लगाउन समेत अदालतमा मुद्दा हाल्नुपर्ने अवस्था अहिले सिर्जना भयो । यो अत्यन्त लाजमर्दाे अवस्था हो ।’
उनले सरकारले पत्रकारहरुका लागि केही नगरेपनि नेपाल पत्रकार मञ्चले ५०० जना पत्रकारहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए ।
सोही कार्यक्रममा कोरियाको नामसोल विश्वविद्यालयकी सहायक प्रध्यापक डा. सिर्जना थापाले ‘साइकोलोजिकल इम्प्याक्ट अफ फ्रन्टलाइनर ड्यूरिङ अ प्यान्डामिक’ शीर्षकमा अध्ययनपत्र प्रस्तुत गर्दै अग्रभागमा क्रियाशील पत्रकारहरु कोभिडको उच्च जोखिममा रहेको बताइन् ।
उनले नेपालमा ८३ प्रतिशत अग्रभागमा क्रियाशील पत्रकारहरु उच्च जोखिममा रहेको नेपालकै बारेमा गरिएको अध्ययनले देखाएको बताइन् । कोभिडकै कारण झण्डै २५ प्रतिशत पत्रकारहरु डिप्रेसनमा जाने अवस्था सिर्जना भएको उनले बताइन् । उनले भनिन्, ‘७४ प्रतिशत पत्रकारहरुलाई आर्थिक समस्या देखिएको छ भने ३८ प्रतिशतले नियमित पारिश्रमिक पाएका छैनन् । जसमध्ये ६ प्रतिशतले आफ्नो नियमित काम गुमाएमा छन् ।’
थापाले कोभिडकै कारण पत्रकारहरुले आफ्नो आम्दानीमा चुनौती, काम नपाउने, स्वास्थ्य समस्या, कतिपय अवस्थामा आफ्ना साथीभाइ समेत गुमाएका कारण दीर्घकालिन रुपमा उनीहरुमा मानसिक समस्या देखिने गरेको बताइन् ।
यस्तै कोरियाको नामसोल विश्वविद्यालयकी सहप्रध्यापक डा.युउनसिल किमले ‘कोभिड–१९ एण्ड मेन्टल हेल्थ’ शीर्षकमा प्रस्तुती गर्दै कोभिड कै कारण मानिसहरुमा साधारण तनाब, डर, चिन्ता र डिप्रेसन देखि कतिपय अवस्थामा मानसिक स्वास्थ्य समस्या समेत देखा परेको बताइन् ।
कोभिड–१९ कै अवधिमा मानिसहरु विभिन्न खालका कुलतमा समेत फस्न थालेको बताउँदै किमले भनिन्, ‘हेर्दा सामान्य लाग्ने अवस्थाबाट सुरु भएर दीर्घकालिन रुपमा अत्यन्तै जटिल स्वास्थ्य समस्या समेत देखा पर्न थालेको छ । कतिपयलाई चिन्ता बढ्ने, निन्द्रा नलाग्ने, अत्यन्तै छटपटाहट हुने जस्ता समस्या देखिन थालेको छ । जुन मानसिक रोगका प्रारम्भिक चरणहरु हुन् ।’
सो कार्यक्रममा देशभरिबाट झण्डै एक सय जना पत्रकारहरुको सहभागिता रहेको थियो ।