भक्तपुर । पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारलाई विश्वासको मत प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित युवा विकास तथा अध्ययन केन्द्रको दोश्रो साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘उहाँहरुले विश्वासको मत प्राप्त गर्नुहोला वा नहोला, तर म व्यक्तिगत रुपमा विश्वासको मत प्राप्त गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्छु । उहाँहरुलाई एमालेको साथ र सहयोगले नै विश्वासको मत प्राप्त हुने हो । त्यसको निम्ति उहाँहरुले सबै खालको कसरत गर्नुहोस् । ’
बस्नेतले नेकपा एमाले प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका खेल्न सक्ने पार्टी भएकाले आफ्नो सशक्त भूमिकालाई सदैव प्रस्तुत गर्ने बताए ।
उनले मुलुकको समृद्धि र विकासका निम्ति आफूहरु सदैव इमान्दार रहेको बताउँदै केपी ओली नेतृत्वको सरकारले धेरै सकारात्मक काम गर्दागर्दै पनि अदालतको परमादेशबाट अहिले प्रतिपक्षमा बस्नु परेको बताए ।
अल्पविकसितबाट विकासशील मुलुकमा रुपान्तरण हुनु, आयातमुखी अर्थतन्त्रमा नियन्त्रण गर्दै निर्यातलाई बृद्धि गर्न सक्नु ओली सरकारको सफलता भएको बस्नेतले बताए ।
उनले भने, ‘आयातलाई ५ प्रतिशतमा झार्ने र निर्यातलाई ३५ प्रतिशत बढाएका छौं । कृषिमा आत्मनिर्भर हुने तर्फ उन्मूख भएका छौं । नेपाल औद्योगिक रुपमा स्थापित हुने अवस्थामा पुगेको छ । यो राम्रो सफलता हो ।’
कुनैपनि काम सानो वा ठूलो नहुने बताउँदै बस्नेतले श्रमलाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘जुनसुकै कामलाई सानो ठान्नुुहुँदैन, ठूलो कुरा त त्यो कामले समाजलाई कस्तो योगदान दियो भन्ने नै हो ।’
आफू निर्वाचित भएको साढे तीन बर्षको अवधिमा भक्तपुरमा विकासको लहर फैलिएको बताउँदै बस्नेतले भने ‘अहिले कुनैपनि व्यक्तिले भक्तपुरको जुनसुकै ठाउँमा गएर हेर्न थाल्यो भने विकास नै विकास देख्न पाउँछ ।’
आफू निर्वाचित भएको क्षेत्रमा विकासको लहर फैलिएकै कारण अबको केही कार्यकाल अरु कसैले जनताको विश्वास जित्न नसक्ने तर्क गर्दै बस्नेतले भने, ‘भक्तपुर जिल्लामा जनताको विश्वास जित्ने सवालमा दुई चार कार्यकाल अरु कसैको चाहना पूरा नहोला भन्ने लाग्छ । कसैले हामीलाई पार लगाएर त्यो ठाउँमा आउँला भन्ने ठानेको छ भने त्यो सम्भव नहोला ।’
सोही कार्यक्रममा बस्नेतले सूर्यविनायक नगरपालिका वडा नम्बर १ र ४ मा विभिन्न पेशा, व्यवसाय गर्ने ४० जना युवा व्यवसायीहरुलाई सम्मानित गरेका थिए ।