काठमाडौं । नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ ।
एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपे, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।
कोरोना भाईरसको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको अनुमान गरिएको छ । नेपाल र भारतलाई 'रेड जोन' मा राखिएको थियो। भारतले पनि प्रतियोगिता खेल्ने छैन् । प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो । बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए ।
नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा दाबी प्रस्तुत गर्दै प्रतियोगिता खेल्ने तयारी गरेको थियो । नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षण समेत सुरु गरेको थियो ।
प्रतियोगिताको तयारी र सहभागीता सुनिश्चित गर्दै राखेपले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर अन्तिम समयमा आएर नेपालले प्रतियोगिता नखेल्ने भएको छ ।
संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारी तिव्र बनाएको थियो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।