काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत् चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् ।
प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन शुरु गरेका उनीहरुले आजदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् ।
आज बिहान आन्दोलनरत् कर्मचारी, चिकित्सक र विद्यार्थीले काम नगरेको प्रतिष्ठान शुद्धीकरण अभियान संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । आकस्मिक सेवा, कोभिड उपचार र परीक्षा नरोकिने र माग सम्बोधन नभएसम्म दुई घण्टा अन्य सेवा बन्द गर्ने काम उनले बताए ।
उनीहरु प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, वर्तमान पदाधिकारीको बर्हिगमन, भ्रष्ट्राचार र आर्थिक अनियमितता रोक्न फास्ट ट्रयाकबाट छानबिनलगायत माग राखेर आन्दोलनमा छन् ।
प्रतिष्ठानका उपकुलपति गिरीले हिजो आन्दोलनरत् कर्मचारी, चिकित्सक र विद्यार्थीलाई वार्तामा बोलाएका थिए । तर संघर्ष समितिले उपकलुपतिसँग वार्तामा नबस्ने बताएको छ ।
संघर्ष समितिका संयोजक डा. रिमालले उपकुलपति गिरीसँग वार्ता आह्वान गर्ने नैतिक हैसियत नै नरहेको जिकिर गरेका छन् ।