नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक नेपालका प्रधानमन्त्री बनेका छन् । प्रमुख प्रतिपक्ष दलका नेतालाई प्रधानमन्त्री बनाइ पाउँ भनेर सर्वाेच्च अदालतमा निवदेन परेपछि अदालतको आदेशअनुसार शेरबहादुर देउवा केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै नेपालका ४४ औं प्रधानमन्त्री बनेका छन् । व्यक्तिगत रुपमा शेरबहादुर देउवा नेपालको राजनीतिमा सफल मानिएतापनि स्वयं उनकै पार्टी सञ्चालनमा भने असफल भएको टिप्पणी पनि आउने गरेकै हुन् । उनले नेपाली कांग्रेस पार्टीको विधि र विधान विपरीत पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । उनीमाथि पार्टीको मार्गनिर्देशक सिद्धान्तहरु समेत खलबल्याउँदै पार्टीको नियमित महाधिवेशन गर्न नसकेको आरोप पनि लाग्दै आएको छ । यतिमात्र होइन, उनकै नेतृत्वमा सम्पन्न पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद हार व्यहोर्नुमा पनि उनलाई पार्टी नेतृत्व पंक्तिले नै दोषी मान्दै आएका छन् । यदि हुँदाहुँदै पनि अन्ततः देउवा पुनः नेपालको सत्ताको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन् । यो अवस्थामा नेपाली कांग्रेसको राजनीति कति सफल ? आखिर राजनीति सत्ताका लागि मात्र हो त ? यीनै बिषयबस्तुमा केन्द्रित रहेर नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेसँग क्यापिटल दैनिकका लागि सहकर्मी कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सारांश :
तपाईका पार्टीका सभापति शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बन्नुभयो ? राजनीतिक रुपमा उहाँको सफलाता मान्न सकिन्छ होला नि हैन ?
प्रधानमन्त्री हुनु नै सफल हुने हो भने त करिब–करिब दुई तिहाईको बहुमत प्राप्त गरेर करिब ४१ महिनासम्म केपी ओलीजी शासन गरेर हिजो बर्हिगमन हुनुभयो । त्यो त अत्यन्तै सफल मानिनु पथ्र्यो नि त । तर, होइन रहेछ । कुरो त के रहेछ भने, तपाईले ऐन, नियम, कानुन, संविधान अनुसार चलेर देशमा सुशासन दिन सक्नु भयो कि भएन ? विकास निर्माण गर्नु सक्नु भयो कि भएन ? जनताका आवश्यकतालाई परिपूर्ति गर्नु सक्नु भयो कि भएन इत्यादि महत्वपूर्ण कुराहरु हुँदोरहेछ । अर्काे कुरा जब, व्यक्तिमा अहंकार बढेर जाँदो रहेछ र म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने कुरा हुँदो रहेछ । मैले जे गरेपनि हुन्छ भन्ने कुरा त्यो कतिसम्म टिक्न सक्दो रहेछ भन्ने कुरा केपी ओलीजीबाट प्रष्ट देखिएको छ । यसै सन्दर्भमा हाम्रा अदरणीय सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँका अगाडि विगतलाई बिर्सिदिने हो भने पनि उहाँको चार वटा प्रधानमन्त्रीकालमा कुनै पनि स्मरणीय चिज छैन । कतिपय कुराहरु त बिर्सिन लायकै छन् । तर, यति भनिरहँदाखेरि पनि उहाँ प्रधानमन्त्री हुनु भएको छ । हिजोका नकारात्मक कुराहरु त बिर्सिदिउँ । सकारात्मक नै कुराहरु सोचिरहँदाखेरि पनि उहाँका अगाडि ओलीजीले छोडेका समस्याहरुको चाङ छ । बेथितिहरुको चाङ छन् । त्यसमाथि पनि अहिले त झन कोरोनाको कहर र बाढी पहिरोको कहर । यो दुईवटा कहरले अहिले देश नै आक्रान्त छ । हिमाल, पहाड, तराई, मेची महाकाली सबैतिर आक्रान्त छ । यस्तो परिस्थितिमा अब देउवाजीले कसरी यसलाई सम्हालेर अगाडी बढ्नु हुन्छ त्यो नै एउटा प्रमुख चिन्ताको विषय भएको छ, हामी कांग्रेसी जनलाई भने । दोस्रो कुरो उहाँका अन्डर राजनीतिक कुरा पनि टड्कारो अगाडि आएको छ । असार २९ गते उहाँले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नु भयो । अब एक महिनाभित्र उहाँले संसद्बाट विश्वासको मत लिनुपर्छ । त्यो लिनको निमित्त अहिलेको जुन राजनीतिक जटिलता छ, त्यसको उत्तर ठ्याक्कै अहिले दिन सकिने अवस्थामा छैन् । अब यसलाई यसरी हेरिरहँदाखेरि हिजोका दिनमा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी लिएर आउनु भएको भएदेखि त सहज हुन्थ्यो होला शेरबहादुरजीका लागि । अब त उहाँ नयाँ पार्टी फुटाएर पनि आउनु भएन । त्यत्ति मात्रै होइन, जुनदिन सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदियो । त्यही दिन उहाँले गठबन्धनको बैठक राखेर भन्नुभयो कि, अब म यो गठबन्धनमा छैन । यति कुराहरुले हाम्रो पार्टी एकताको कुरा चलिरहेको छ, अब यसमा मेरो संलग्नता रहँदैन । उहाँले शेरबहादुर देउवा, प्रचण्डजी लगायतलाई राखेर त्यो कुरा भन्नुभयो । भनिसकेपछि अहिले त अत्यन्तै पेचिलो अवस्थाबाट देशको राजनीति गुज्रिरहेको छ । अब शेरबहादुरजीले कसरी सम्हाल्नु हुन्छ म त कठिन देखिरहेको छु ।
केपी ओलीका विभिन्न बेथितिहरुका विरुद्ध बोल्ने कांग्रेससँग त्यो नैतिक हैसियत छ र ? उसले अहिलेसम्म पनि सदनमा यस बारेमा खासै कुरा त उठाउन नसकेको कुरालाई त स्वीकार्नुहुन्छ नि ?
बेलाबेलामा नगरेको होइन, हाम्रो प्रवक्ता विश्वप्रकाशजीले बेलाबेलामा भन्नुहुन्थ्यो । तर, तपाईले भनेको कुन कुरामा म सहमत छु भने बिगत चालिस महिनामा महत्वपूर्ण कुराहरुमा, संसद्मा जुन कुराहरु उठाउनु पथ्र्यो । प्रतिपक्षको नेताको हैसियतले जुन भूमिका खेल्नुपथ्र्यो त्यो भूमिका चाँहि कांग्रेस र कांग्रेसका नेताहरुबाट भएन् । त्यो त जग जायर छ । त्यत्ति मात्रै होइन, पुष ५ गते ओलीजीले विघटन गर्नु भएको प्रतिनिधि सभालाई जब सर्वोच्च अदालतले पुनर्वहाली गरिदियो । त्यो पुनर्वहाली गरिसकेपछि पनि करिब दुई ढाइ महिनासम्म ओलीजी त संसदमा जाँदै जानु भएन । प्रतिपक्षको नेता हाम्रो आदरणीय शेरबहादुर देउवाजी पनि संसदमा जानु भएन । कम्तिमा पनि हामीले के अपेक्षा गरेका थियौं भने शेरबहादुर देउवाजी प्रतिनिधिसभामा गएर सरकारका गलत क्रियाकलापहरुको फेहेरिस्त पेस गरेर यसो भइरहेको छ । अब यसलाई यसो गर्नुप¥यो भनेर प्रतिपक्षको नेताले जुन बोल्नुपथ्र्यो । उहाँ पनि संसदमा जानु भएन । भनेको मतलव के भने त्यत्तिखेर यस्तो लाग्थ्यो कि प्रधानमन्त्रीलाई पनि प्रतिपक्षको नेतालाई पनि संसद चाँहि एक प्रकारले एलर्जी भएको हो भन्ने जस्तो लागि रहेको थियो । नभए त उहाँले गएर बोल्नुपथ्र्यो । शेरबहादुरजीले बोल्नु भएन । त्यहाँ चाहिँ ठूलो त्रुटी भएको महसुस आम कार्यकर्तामा आम मिडियामा आइरहेकै कुरा हो । साउन ३ गते प्रतिनिधिसभा बोलाउनै पर्छ । तोकि नै दिएको छ परमादेशले । अब त्यसपछि अगाडी कसरी बढ्छ त । यस्तो भइसक्यो कि हाम्रो संविधानमा राखिएका त्रुटीहरु । वुलेटकै गतिमा संविधान बनाइयो । आज त्यहाँ भएका विसंगतिहरु देखियो । एउटा धारा ७६ का उपधाराहरुले कसरी–कसरी ? कस्ले ? कसरी ? कहाँ–कहाँ ? के–के खेल्न सक्छ ? भन्ने कुरा आयो । हुँदाहुँदा अब सर्वोच्च अदालतले संविधाननै संशोधन गरिदियो भने हुन्छ । धारा ५ सँग सम्बन्धित कामहरु गर्दा सांसद्हरु ह्वीप लाग्दैन भन्ने थियो । भनेपछि दलिय व्यवस्थामा निर्दलियता छिरेको रहेछ त । यसले ल्याउने त अराजकता पनि अर्को पाटो छ । कुनै अहिले यो एक पटकलाई मात्रै होइन, यो संविधान रहिरह्यो भने भविष्यमा पनि यस्ता कुराहरु त दोहोरिएर जानेबाला छन् । हामीले संविधान बनाउँदैखेरि नै सुधारिएको संसदीय व्यवस्था भन्यौ तर, कतिपय त्रुटीहरु कस्तो रहेछ भन्ने कुरा देखियो । एउटै व्यक्तिले धारा १ देखि लिएर धारा ५ सम्म प्रधानमन्त्री भइरहने, राजिनामा गर्नु नपर्ने कस्तो किसिमको संविधान बनाएका रहेछन् । यतिखेर तुरुन्तै भएको के छ भने, सरकारको स्थायित्व हुन्छ कि हुँदैन त ? शेरबहादुर देउवाजीको सरकारको स्थायित्व आउने निर्वाचनसम्म टिक्छ कि टिक्दैन ? भन्ने कुरा चाहिँ प्रश्न चिन्ह खडा भएको छ । शेरबहादुरजीले एक महिनाभित्र विश्वासको मत लिन सक्नु भएन भने त स्वतः फेरि यो निर्वाचनमा जाने भयो ।
त्यसको लागि त अदालतले बाटो खोलिदियो नि होइन र ? दलिय ह्वीप लाग्दैन । कारबाही नगर । जसले जता मन लाग्छ भोट हाल्न पाउँनु पर्छ । स्वतन्त्र भए । राजनीतिक बन्धन रहेन । भन्ने अदालतले बाटो खोलि दिएपछि त माधव नेपालहरुको समूहलाई पनि सहज भयो बाँकी सबैलाई सहज भइहाल्यो नि हैन र ?
सहज भएर पनि माधव नेपालजीको भनाई अनुसार अब हामी पार्टी एकतातिर लागेका छौं । त्यस कारण अब हामी शेरबहादुरजीलाई समर्थन गरेर मतदान गर्न सक्दैनौं भनेका हुन् ।
पछिल्लो भेटमा त फेरि बधाइ दिन जाँदैगर्दाखेरि होइन तपाईलाई विश्वासको मत हामी दिन्छौं । ढुक्क हुनुस् बरु नेकपा एमालेको राजनीति त्याग्न तयार भन्ने खालको प्रतिक्रिया आयो नि ?
यहाँ विश्वासको संकट यति भइसक्यो कि, दुई दिन अगाडि त्यही नेता एक थोक भन्नुहुन्छ । उहाँले एक दुई जनालाई खुसुक्क भन्नु भएको होइन् । उहाँले त सबैलाई राखेर अब म यो समूहबाट अलग भए भनेर भन्नु भएको होइन ? अब हिजो फेरि शेरबहादुरजीलाई त्यसो भन्नु भयो भने भोलि के गर्नु हुन्छ के ठेगान ? २०६२/६३ को जनआन्दोलन पछि अहिलेसम्म हेर्दा सबैभन्दा ठूलो भने नेताहरुमा विश्वासको संकट छ । कुनै पनि नेता विश्वसनिय भएन । कसले कस्लाई कतिखेर धोका दिन्छ ? के गर्छ ? भन्ने कुरा चाहिँ भन्नै नसकिने भयो । त्यो लामो सिँडी छ । शेरबहादुर, प्रचण्ड, माधव र ओलीले दिएका धोकाहरु हेर्दै–हेर्दै जाने हो भनेदेखि अर्कालाई उपयोग गर्ने उपयोग गरिसकेपछि त्यसपछि आएर जतिखेर आफूलाई आवश्कता पर्छ सहमति च्यातिदिने । यो कुरा भइरहेको अवस्थामा म त एउटा आम नेपाली जनताको हैसियतले,नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले अब कांग्रेस कम्निष्टहरुको दलदलमा फसेको त हैन भन्ने लागिहरुको छ ।
यो त देखियो त ? अब यो गठबन्धन कम्तिमा यो चुनाव सम्मपछि तोडिँदैन सकेसम्म दोस्रो चुनावमा पनि हामी सँगै हुन्छौ भनेर प्रचण्डले भनिसकेका छन् ? यो अवस्थामा त तपाईहरुको कांग्रेसका कार्यकर्ताले हैसियाँ हथौडामा भोट हाल्नुपर्ने अवस्था आएन र ?
तत्कालिन अवस्थामा हाम्रा सभापति शेरबहादुर देउवाले हैसिया हथौडामा भोट हाल भनेर कांग्रेसी कार्यकतालाई गएर भरतपुरमा भनेपछि देशभरि परेको नकारात्मक असर अहिले पनि ताजा घाउको रुपमा कांग्रेसीजनले सम्झन्छन् । प्रचण्ड जीले भनेझैं यो सरकारलाई सहयोग गर्नको निम्ति यो पाँच दलको भनौ समूहको भनौं बादल जी लाई दल भन्ने की के भन्ने,एउटा सम्यंत्र बनाउनु पर्यो भनेदेखि त सरकार भन्दा बाहिर बसेर एउटा संयन्त्रले कमाण्ड गर्ने हो । यो अवस्थामा शेरबहादुर जी लाई अब सरकार चलाउनको निम्ति त्यति सहज छँदैछैन । हिजो उहाँले शपथ लिँदै दुईवटा महत्वपूर्ण मन्त्रालय जलस्रोत र अर्थ नेकपालाई दिनु पर्यो । आउने दिनहरुमा के–के चाहिँ उहाँहरुले बार्गेनिङ गर्नुहुन्छ यो पनि हेर्न बाँकी छ । यसको मतलब अवजस चाहिँ सरकारको टाउकामा जाने राम्रो काम गर्यो भनेदेखि संयन्त्रले यस्तो काम गर्यो भनेर प्रचण्ड जी बाहिर बसेर भन्दै हिड्ने । यो त अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट भिरको फर्सि जस्तो भइसक्यो सरकार ।
अब तपाईंहरुको लागि के हुन्छ होला ? प्रधानमन्त्री बन्ने,सरकार चलाउने अथवा सत्तामा जाने तपाईंहरुको म्यान्डेट त थिएन ? मध्यावधी निर्वाचनको विकल्पमा जाँदै गर्दा अदालतबाट बन्द भइदियो । कांग्रेस अघिल्तिरको अथवा नेतृत्व अघिल्तिरको विकल्प पनि त थिएन ?
हामी त फसिँनै सक्यौ । अब त यस्तो भइसक्यो की प्रधानमन्त्रीले शपथ लिइनै सक्नुभयो । मैले सकिन भने राजीनामा दिनु पर्यो, होइन भने यस्तो अवस्थामा पुगियो कि, पूरा वेथिती चाहनेहरु छन् । अध्यादेशका चाहनेहररु छन् । अध्यादेशमार्फत ऐनलाई संशोधन गर्दै आयोगहरुमा गरेको नियुक्तिहरु चाहन्छन् । त्यस्ता धेरै कुराहरु छन् । अब यी सबै कुरालाई करेक्सन गर्दै जानु परेको छ ।
करेक्सन त कसरी गर्ने ? कांग्रेसकै भागबन्डामा भएको भनेर आइरहेको छ, शेरबहादुर देउवाहरु बोलेका छैनन् ।
मेरो भागमा परेको छ त्यस कारणले म करेक्सन गर्दिन भन्नु त परिगयो ।
नैतिकताको संकट त आउला नी त फेरि ?
त्यो त उहाँले बुझ्ने कुरा हो । म एउटा कार्यकर्ताको हैसियतले हेर्दा, जुन चाहिँ यी वेथितिका प्रश्नहरु छन् । आयोग गठनका कुराहरु छन् । यी सबैलाई उहाँले करेक्सन नगरिकन फेरि त्यहि बाटो हिँडे भइगो नि त ? ओली पथमा हिँडे भइगो नी उहाँको लागि पनि ।
नयाँको त के अपेक्षा गर्ने र फेरि ?
न अपेक्षा छ मेरो । सभापति आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवा सफल हुनुहोस् भन्ने भाहन्छु । उहाँ असफल हुनु भनेको त कांग्रेसको लागि असफल हुनु हो नी । शेरबहादुर देउवा असफल भयो भन्दैनन् । देखाउनेले त कांग्रेस पनि के हालत गर्यो ? ओलीले ४१ महिना चलाए बाँकी रहेको महिना पनि केही गर्न नसकेर वेथिति, भ्रष्टाचार कांग्रेसले गर्यो भने हामीले त त्यो पाँचै वर्ष भोगेर जानु पर्छ । यदि यो सरकार १७/१८ महिना टिक्यो भनेदेखि त त्यो सम्पूर्ण दोषको भागिदार त हामी पनि हुँदै जान्छौं । हाम्रोलाई त झन पीडा बोध हुने भो, यो त एउटा अत्यन्त नै दुष्चक्रमा हामी फसेका छौं ।
यो भन्दा अगाडिको सत्ता रोहण अथावा ससकार सञ्चालनमा कांग्रेस नेतृत्वको सरकार बदनाम असफस हुनुको कारण आलोचित हुनुको कारण,प्रहरी संगठनको सन्दर्भ धेरै जोडिएर आएका थिए । अहिले जाँदै गर्दा एउटा प्रश्न पनि आइरहेको छ । अब शितल निवास अत्यन्तै असहिष्णु भयो । यसलाई महाअभियोग लगाउनु पर्छ भनेर आयो । अब यो सरकारको प्रहार राष्ट्रपति माथि भयो भने म्याशेज के जान्छ होला ?
म तपाईलाई प्रस्ट भन्न चाहन्छु । विगतमा देउवाको सत्ता चारपटकको प्रधानमन्त्रीत्व सुखद रहँदै रहेन । यो काम राम्रो गर्यौ भन्ने नै भएन, बदनामै बदनाम मात्र भोग्नु पर्यो । त्यसलाई म अहिले बिर्सन चाहन्छु । रह्यो अब जुन पाँचौ प्रधानमन्त्री देउवाले सुरु गर्नुभएको छ । त्यो चारवटा काललाई बिर्सने गरी सकारात्मक काम गर्नु होस् भनेर सुझाव दिन्छु, उहाँलाई म एउटा कार्यकर्ताको हैसियतले । राष्ट्रपति शीतल निवाससँग जोडिएको जुन कुरा छ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेश बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दाखेरी जुन ७६ पाँचको धारा कोट नगरिकन नियुक्ति गर्नु खोज्नुभयो, त्यहिबाट उहाँको नियत प्रष्ट देखिन्छ । उहाँ एउटा षडयन्त्रको तहमा फस्ने सुझाव कसैले दियो । अथवा जोसुकैले दिउन गर्ने त राष्ट्रपतिकै नामदेखि आउछ । उहाँले जे गर्नुभो, त्यो एउटा दुखद पक्ष हो । यो करेक्सन नगरी शपथ लिन्न भनेर शेरबहादुर देउवाले डेढ दुई घण्टा अडान लिएका कारणले शपथ लिने काम पनि ढिला भयो । त्यो पछि करेक्सन भएर आए पछि मात्र शपथ लिनुभयो । त्यति मात्र हैन उहाँले देउवा प्रधानमन्त्री भैसकेपछि राष्ट्रपतिले बधाईको एक शब्द पनि व्यक्त गर्नुभएन । राष्ट्रपति भनेको जोसुकै प्रधानमन्त्री भए पनि कानुन बमोजिम जे हुन्छ उहाँले त्यो गर्ने हो । कुनै व्यक्ति विशेषमा लगाब लगाउनु हुँदैन थियो । तर उहाँलाई केपी ओलीको बहिर्गमन र शेरवहादुर देउवा जीको आगमनले अत्यन्त पीडित हुनुहुन्छ जस्तो देखियो । अब जहाँसम्म उहाँलाई महाअभियोग लगाउने कुरा छ, म त्यो पक्षमा छैन । किनकी यस्ले राष्ट्रको हित गर्दैन । उहाँले अब राष्ट्रपतिकै हैसियले काम गर्नुपर्छ ।
गणतन्त्रको प्रतिक मानिएको संथा माथि प्रश्न उठ्न थालिसक्यो कांग्रेसले यसलाई किनारा त लगाउनु पर्ने होला नि ?
राष्ट्रपतिमाथि महाअभियोग लगाउने भन्नु हुन्छ भने उपराष्ट्रपति पनि त प्रचण्डले जे भन्यो त्यति मान्नु हुन्छ । उहाँ चाँही कार्यवाहक राष्ट्रपति हुँदा के राम्रो हुन्छ भन्ने । जब की अहिलेनै प्रचण्ड जीले राज्य सञ्चालन गर्न एउटा सयन्त्र बनाउनु पर्यो भनेर भनिनै सक्नु भो । भोलिका दिनमा के–के गर्नु हुन्छ हुन्छ ? यता तिर प्रवेश गर्यो भने देखि अरु दुष्चक्रमा पनि फस्न सक्छौ । त्यस कारणले राष्ट्रपतिले पनि आफूलाई अब बदलिएको परिस्थतिमा असली राष्ट्रपतिकै रुपमा रहन्छु भन्नु पर्यो । र हाम्रो तर्फबाट पनि राष्ट्रपतिलाई महाअभियोग लगाउने कार्य गर्नु हुँदैन भन्ने लाग्छ ।