काठमाडौं, ८ पुस । प्राविधिक शिक्षा पढेर दुर्गम क्षेत्रको सेवा गर्ने सपना बोकेर दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यन गर्न आएका २३ विद्यार्थीको सपना अधुरो रह्यो ।
दाङको तुलसीपुर राम्रीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो । जसमध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ११ जना जुम्ली विद्यार्थीको मृत्यु भएको हो । घाइतेमध्ये चार जना पनि जुम्लाकै रहेका छन् ।
मृतक जुम्ली विद्यार्थीहरुमा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।
मृतकमध्ये आठ जनाको शव हेलिकोप्टरबाट जुम्ला पु¥याइएको छ । शव जुम्ला र्पुयाइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो । सन्तानलाई प्राविधिक शिक्षा पढाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएका थिए ।
त्यस्तै दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका–४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ नगरपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी र चन्दननाथ–४ की १६ वर्षीया बर्षा रोकाया रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।