भक्तपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको अधिकार खोसिएको बताएका छन् ।
सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट पुगेपछि आफ्ना शुभेच्छुक तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्ने क्रममा ओलीले आफूले साढे तीनबर्षको सफल कार्यकाल पूरा गरेर आएको बताए ।
ओलीले आफूले कुनै गल्ती कमजोरी गरेर नभइ अकारण पदबाट हटाइएको बताए ।
उनले भने, ‘म फेरि जनादेशबाट होइन, परामादेशबाट, अदालतबाट अकारण कुनै गल्ती गरेर होइन, काम गर्न नसकेर होइन,देशको विकास गरेर, देशलाई अगाडि बढाएर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, संविधानलाई सर्वस्वीकार्य बनाएर,विकासको लहर अगाडि बढाएर आएको छु ।’
ओलीले जालझेल गरेर अदालतमा मुद्दा हालेर गैरसंवैधानिक तबरले जनादेश विपरीत अदालतबाट प्रधानमन्त्री तोक्ने संसारमै नभएको कार्य अदालतबाट भएको टिप्पणी गरे ।
ओलीले भने,‘जालझेलीहरुले अदालतमा मुद्दा हालेर असंवैधानिक फैसलाबाट जनादेश विपरीत कुनै मूल्याकनको आधारमा होइन, जनतामा जान नदिएर, अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर विश्वमा कहि नभएको नजिर कायम गरेर नेपाली जनतामाथि र लोकतन्त्रमाथि अतिक्रमण भएको छ ।’
जनताले आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्न पाउने अधिकारलाई समेत कुण्ठित गर्ने काम अहिले अदालतबाट भएको ओलीले दाबी गरे ।
उनले भने, ‘नेपाली जनताले आवधिक मूल्याङ्कन गर्न पाउने सरकारको नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्न पाउने अधिकार खोसेर विश्वमै कहिँ नभएको काम अदालतबाट प्रधानमन्त्री तोक्ने जात्रा अहिले भएको छ ।’
आफू अहिलेसम्म चुनाव हारेर प्रधानमन्त्रीबाट हटेको नभइ विभिन्न जालझेलबाट हटाइएको बताउँदै ओलीले भने, ‘म पहिला पनि चुनाव हारेर हटेको होइन, जालझेल गरेर हटाइयो, अहिले पनि मैले चुनाव हारेर हटेको होइन, बचेर कहाँ जान्छन्, एकपटक चुनाव त हुन दिनुस् ।’
उनले अहिलेको परिस्थिति निर्माण गर्ने अरु कोही नभएर माधव नेपाल भएको आरोप लगाए ।
उनले भने, ‘जनप्रतिनिधिको सरकार ढाल्ने, विकासप्रेमी सरकार ढाल्ने, विकासको नायकत्व गर्ने विरुद्ध अगुवाइ गर्ने माधव नेपाल ।’