काठमाडौं । राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेका मध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।
टिमबाट बाहिरिने गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रबि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई रहेका छन् ।
एन्फाले बिक्रम लामाले टिमसँग प्रशिक्षण गरिरहेको जनाएको छ । पूर्ण फिट भएमा उनलाई टिम राखिने बताईएको छ ।
चोटको शल्यक्रिया गरेपछि उनी मैदान फर्किएका हुन् ।