काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेपछि अब आज भोलिदेखि नै सरकारमा रहेकाहरूले आफैले खोपको व्यवस्था गरे जसरी तमासा गर्ने बताएका छन् ।
सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाएका उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नहुने बताएका हुन् ।
उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।
जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ ।
यस्तै जोनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त हुने क्रममा रहेको ओलीको भनाइ छ ।
बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।
उनले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको बताए ।