भक्तपुर । पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले एमालेको जनमुखी कदमले आफ्नो राजनीतिक भविष्य जनताले अन्धकार बनाउने बुझेपछि प्रतिपक्ष दलहरुले अनेक षड्यन्त्रका तानाबाना बन्न थालेको बताएका छन् ।
राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निलवाराही मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको जनमुखी कामबाट तर्सिएर कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतका दलहरु तानाबाना बुन्न लागिपरेको बताएका हुन् ।
बस्नेतले भने, ‘एमाले तथा केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई गाउँ–गाउँमा पुर्याएको छ । जसले गर्दा विपक्षी गठबन्धन आत्तिएको छ, तर्सिएको छ । केपी ओली तथा एमाले यही गतिमा अगाडि बढे ४०औं वर्ष एमालेले मुलुकको नेतृत्व गर्ने विश्लेषण सहित एमाले र केपी ओली नेतृत्वको सरकारको विरुद्धमा विपक्षी गठबन्धनले षड्यन्त्र, जालसाँजी, झुटा प्रचार, स्वतन्त्र न्यायालयमा समेत सेटिङलगायत गर्ने गरेका छन् ।’
एमालेलाई लडाउन एक्लैले नसकेपछि विपक्षी दलहरुले संयुक्त गठबन्धन बनाएको बताउँदै हिम्मत भए एक्ला एक्लै भिड्न बस्नेतले चेतावनी दिए ।
उनले भने, ‘सिङ्गल सिङ्गल भिड्ने हिम्मत नभएपछि तपाईहरु एमाले विरुद्ध गठबन्धन बनाएर अगाडि बढ्नुभएको छ । जस्तोसुकै गठबन्धन बनेपनि तपाईहरुसँग भिड्न हामी तयार छौं ।’
सरकारको कामबाट जनता खुसी रहेको उल्लेख गर्दै उनले नेपाली जनताको साथ साथै इतिहासदेखि नै पछाडी परेको भक्तपुरमा एमालेको नेतृत्वसँगै विकासले नयाँ लहर ल्याएको बताए ।
बस्नेतले भने, ‘एमालेका जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षमा नै निर्वाचनको समयमा घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताहरु सम्पूर्ण पूरा भइसकेको छ ।’
बस्नेतले मनमोहन अधिकारीले २०५१ सालमा बृद्धभत्ता बापत १०० रुपैंयाबाट शुरु गरेको कार्यक्रमलाई केपी ओलीले ४ हजार पुर्याएको बताए ।
युवा नीति, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, युवा स्वरोजगार कोष, विदेशबाट फर्किएकालाई सहुलियतदरमा ऋण, सुरुङ युगको शुरुवात, पानीजहाज, रेलमार्ग युगको शुरुवात लगायतका असंख्य जनमूखी कार्यहरु भइरहेकाले विपक्षी दलका नेताहरुको राजनीतिक अस्थित्व समाप्तीको बाटोमा लागेकाले एमाले तथा सरकारको विरोध गरिरहेको बस्नेतले बताए ।