काठमाडौं । वर्तमान अवस्थामा रेडियोको अस्तित्वलाई जोगाउन समेत चुनौती खडा भएको क्यापिटल मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुप अन्तर्गत क्यापिटल एफ.एम.९२.४ मेगाहर्जको १६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्र र प्रजातन्त्रको निम्ति मिडियाको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै क्यापिटल मिडिया ग्रुपले सत्य, तथ्य सूचना सन्देश प्रवाह गर्ने कार्यमा कहिलेपनि कन्जुस्याइँ नगरेको बताए ।
पौडेलले भने,‘सरकारको नीति लोककल्याणकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्ने खालको छैन । पहुँच भएकाहरुको मात्र एकाधिकार रहेको अवस्थामा रेडियोका अस्तित्व संकटमा पर्न सक्दछ ।’
कार्यक्रममा रेडियो ब्रोडकास्ष्टर्स फोरम (आरविएफ)का अध्यक्ष आरके श्रेष्ठ नेपालमा अहिले ७ सय ५७ वटा रेडियो सञ्चलन भएको अवस्थामा चुनौती पनि उत्तिकै विद्यमन रहेको बताए ।
श्रेष्ठले विगतदेखि नै रेडियोले अरुका बारेमा मात्र बोलेका बताउँदै अब आफ्नै बारेमा बोल्ने दिन आएको बताए । उनले भने, ‘अरुका बारेमा हामी संवाहक बन्यौं, तर अब आफ्नै बारेमा कुरा गर्ने बेला आएको छ । अब हामीमाथि आएका समस्याका बारेमा सम्वाद गर्ने थाल्यौं ।’
श्रेष्ठले लोकतन्त्र र प्रजातन्त्रका लागि विशेष योगदान दिएको नेपाली सञ्चार माध्यमलाई संकुचित बनाउने नियत सरकारले राखेको बताए । उनले भने, ‘नेपाली सञ्चार माध्यमलाई निष्क्रिय बनाउन लागेको अनुभूत भएको छ । नेपाल सरकारले विभिन्न स्थानीय सरकारजले सञ्चार माध्यम सञ्चालन गर्ने तयारी गरेको छ । जसमा हाम्रो आपत्ति छ ।’
यस्तै, क्यापिटल मिडिया ग्रुपका प्रबन्ध निर्देशक सुशील राउतले विगत १६ बर्षे यात्रामा क्यापिटल मिडिया ग्रुपले विभिन्न आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताए । उनले समूहगत रुपमा क्यापिटल मिडिया ग्रुप नेपाली आम जनमानसमा हेर्ने, देख्ने र पढ्ने अवस्थामा सम्म आइपुगेको बताए । राउतले भने, ‘स्वभाविक रुपमा नेपाली सञ्चार माध्यमहरु अहिलेको अवस्थामा संघीन घडीमा उभिएको छ । तर यसको व्यवस्थापन गर्न राज्यले विशेष ध्यान दिनु जरुरी छ ।’
कार्यक्रम क्यापिटल एफ.एम.को अन्तर्राष्ट्रिय साझेदार संस्था चाइना मिडिया ग्रुप (सिएमजी) नेपाली सेवाबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
सन्देशमा सिएमजी नेपाली सेवाले क्यापिटल एफ.एमसँगको सहकार्यको निरन्तरताका साथै अझै उचाइ पाओस् भनी कामना गरेको छ ।
शुभकामना सन्देश मार्फत सिएमजी नेपाली सेवाकी उपप्रमुख लिऊ वन (सुमेघा)ले आगामी दिनमा दुई संस्थाबीचको सम्बन्धमा थप विस्तार हुने अपेक्षा गरेकी छन् ।