काठमाडौं । गत बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।
गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेको खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् ।
घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिरोबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताए ।
त्यसैगरी बन्दिपुर गाउँपालिका–१ मा रहेको कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिरोको कारण उच्च जोखिममा परेका वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।
सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणका लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उनले बताए । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।
नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।