काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ५१ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ज्यान गुमाउनेमा २६ पुरुष, १५ महिला, १० बालबालिका रहेका छन् ।
तीमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३÷३, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २÷२ र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा १÷१ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ७ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा ३, पाल्पामा २ तथा तनहुँ र दाङमा १÷१ जनाको ज्यान गएको हो ।
बाढीपहिरो र डुबानमा परि मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । यस्तै बाढी पहिरोमा परि २९ जना बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन् ।
बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका ३, पर्वत र तनहुँका २÷२ तथा बाजुरा र बाग्लुङमा १÷१ जना छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
बाढीपहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।
बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।