काठमाडौं । संविधादविद् डा. सुरेन्द्र भण्डारीले राजनीतिलाई नागरिक र मुलुकको सेवामा समर्पित गर्न नसकिएको हुनाले विभिन्न पेशागत मान्छेहर पनि राजनीतिमा आउनु परेका बताएका छन् ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै डा.भण्डारीले यदि राजनीति फोहरी नभएको भए कुनै पनि पेशागत मानिसहरु राजनीतिमा आउनु नपर्ने धारणा राखे ।
अहिले मुलुक विभिन्न खालका समस्यामा जेलिएको बताउँदै भण्डारीले अहिलेको मूल जड भनेको भ्रष्टाचारग्रस्त समाज निर्माण भएको बताए । उनले भने, ‘यदि मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन सकिएन भने, राजनीतिले भ्रष्टाचार अन्त्य नगर्ने हो भने मुलुकको समृद्धि सम्भव छैन ।’
अहिले सामाजिक न्याय र मावनतावाद हराउँदै गएको तर्क गर्दै भण्डारीले पछिल्लो समयमा हिंसा, मानवीय मूल्य र मान्यताविपरीतको राजनीति हुन थालेको बताए । भण्डारीले भने,‘यदि सामाजिक न्याय गर्न सकेनौ भने नेपाली समाज ठूलो संकटमा पर्ने स्पष्ट संकेत देखिएको छ ।’
राजनीति सही बाटोमा हिड्न नसकदा हाम्रो आफ्नो पहिचान, इतिहास, गौरव, परम्परा, धर्मसँस्कृति माथि अतिक्रमण भएको भण्डारीले बताए । उनले अबको दिनमा यसको अस्त्वि बचाउन सकेनौ भने सिंगो सभ्यता नै नष्ट हुने बताए ।
आफूहरु सैद्धान्तिक रुपमा संघीयताको विरोधी नभएपनि अहिलेको अवस्थामा संघीयता नेपालले थेग्न नसक्ने भण्डारीले बताए ।
उनले भने, ‘अहिलेको संघीयता सैद्धान्तिक रुपमा गलत नभएपनि यसले व्यवहारिकता पाउन सकेको छैन । अहिलेको संघीयतामा १३ अरबको खर्च छ । हामीले १० अरब राजश्वबाट उठाउँछौ भने बाँकी ३ अरब विदेशी सहायताबाट चलाइरहेका छौं ।’
मुलुकको समृद्धि र विकासका निम्ति कसैलाई पनि निषेध गरिनु नहुने तर्क भण्डारीले गरे । उनले स्थायित्वका लागि राजतन्त्र र लोकतन्त्रलाई सँगै लिएर जानुपर्ने धारणा राख्दा भण्डारीले भने, ‘कसैलाई पनि निषेधको राजनीतिक गर्नु हुँदैन । राजाले पनि लोकतन्त्रलाई निषेध गर्ने काम गरेका थिए । अहिले लोकतन्त्रमा पनि राजालाई निषेध गर्ने काम गर्न हुँदैन ।’