काठमाण्डौं । नेपाल सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध लगाइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।
शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं आइपुगेको हो ।
सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।
६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप लगाइने बताइएको छ ।
खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल आउने तालिका छ।
सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ।
नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने योजना रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।
चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।