चितवन । चितवन जिल्लामा आगामी असार सम्ममा राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । परिचय पत्र वितरणका लागि आहिले आवश्यक तथ्यांक संकलनको काम भईरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुभयो ।
दोस्रो चरणमा परिचय पत्र बाँडिने १५ जिल्लाको सूचीमा चितवन पनि रहेको छ । सरकारले परिचय पत्र कार्यक्रम लागू गरेको जिल्ला वा तोकेको केन्द्र अथवा स्थानीय तह वा अन्य कार्यालयहरुमा नागरिकहरुले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराउन सक्ने विभागका महानिर्देशक दीपक काफ्लेले बताउनभयो ।
सोहि विवरणका आधारमा केन्द्रले परिचय पत्र उपलब्ध गराउने उहाको भनाई रहेको छ । आम नागरिकका बारेमा व्यक्तिगत सूचना संकलनका लागि विभिन्न स्थानमा घुम्ती टोली परिचालन गरिने उहाँले बताउनुभयो ।
परिचय पत्रको अग्र भागमा नाम, थर, जन्म मिति, लिंग, राष्ट्रियता, राष्ट्रिय परिचय नम्बर, आमाबाबुको नाम, फोटो, परिचय पत्रबाहकको फोटो, जारी मिति र बाहकको हस्ताक्षर हुनेछ । त्यस्तै, पछाडिपट्टी भने स्थायी ठेगाना, नागरिकताको किसिम, पतिपत्नीको नाम, बाजेको नाम, नेपालको नक्सा, प्रमाणपत्र जारी गर्नेको नाम, थर र पद रहने छ । नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्रका रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड वितरण गरिने बताईएको छ ।