भक्तपुर । पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् ।
चाइना फाउण्डेन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ता पुर्नस्थापना समाजले आयोजना गरेको विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदुरका बालबच्चाहरु अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने बताए ।
उनले कोभिडले विद्यालय बन्द हुँदा विद्यार्थीको हातमा मोवाइल र वाईफाइको पहुँच पुग्न नसक्नु र शिक्षकले ल्यापटप अभावमा कक्षा सञ्चालन गर्न बताए ।
सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं. २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बस्नेतले बताए । उनले भने, ‘यहाँबाट मूलपानी जाने सडक, गाँकुहुँदै सरस्वतीखेल जाने सडक कालोपत्र भएको भन्दै सानोठिमी धुन्चेपाखा सडकपनि स्तरोन्नतीकालागि बजेट आइसकेकोले छिटै काम अगाडि बढ्नेछ ।’
भूकम्पले भत्किएका थिमिका मठमन्दिरलगायतका सम्पदाको पुर्ननिर्माण, संरक्षणमा नगरपालिकाको योगदान महत्वपूर्ण रहेको बताउँदै बस्नेतले भने, ‘बोडेको प्रवेश गेट, पोखरी, पार्क जस्ता संरचना निर्माणमा तीनवटै सरकारको योगदान रहेको छ । त्यसको साथै निलबाराहीलाई सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्य भित्र पर्न सफल भएको छ ।’
बस्नेतले भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका १ हजार ४ सय ५१ जना विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी सामान तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामाग्रीहरुसहितको झोला छात्रछात्रालाई वितरण गरेका हुन् ।
चाइना फाउण्डेन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ता पुर्नस्थापना समाजल लेबोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राबिका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र श्री आधारभूत प्राविका २१ जना विद्यार्थीलाई १ हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो ।