काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्रीले पटक–पटक संसद विघटन गर्नु गम्भीर त्रुटी भएको बताएका छन् । प्रधानमन्त्रीले संविधानलाई समेत नमान्दा लोकतन्त्र जोगाउन आफूहरुले सर्वाेच्चमा रिट हाल्नु परेको ज्ञवालीले बताएका छन् ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै ज्ञवालीले पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउनुपर्ने धारणा आफूहरुले राखेतापनि केपी ओलीले फागुन २८ गते बालुवाटारमा एउटा गुटको बैठक गरेर आयोजक समिति गठन गर्नु अवैधानिक भएको बताए ।
उनले भने, ‘हामीले जे भनेका थियौं अदालतले पनि त्यही भनिदियो, त्यसैले फागुन २८ गते उहाँले गरेका सबै कामहरु र निर्णयहरु बेठिक थियो भन्ने त पुष्टी भइसक्यो ।’
माओवादीका तर्फबाट आएकाहरुलाई सँगै राखेर पार्टीलाई जेठ २ गते अगाडिको अवस्थामा फर्काएको मान्न नसकिने बताउँदै ज्ञवालीले पूर्व माओवादीका साथीहरु सामेल भएको कमिटी कुनै पनि हालतमा जेठ २ गतेको कमिटी हुन नसक्ने बताए ।
केपी ओलीले गरेका निर्णयहरु अपरिपक्व भएको तर्क गर्दै ज्ञवालीले राम्रो काम गरेकाहरुलाई पार्टीमा ल्याउनु सकारात्मक भएतापनि त्यसको विधि र प्रक्रियालाई पालना गर्नुपर्ने बताए ।
पार्टीको कुनै नेता बन्नको लागि त त्यो त महाधिवेशनबाट चुनिनु पर्यो, या त विधान बमोजिम किटान बमोजिम केन्द्रीय कमिटीले निर्णय गर्नुपर्दछ । तर अध्यक्षले निर्णय गर्ने हाम्रो विधानमा कहिँपनि छैन ।
आफूहरुले आफ्नै पार्टीका अध्यक्षका विरुद्धमा रिट हाल्नु स्वभाविक नभएको बताउँदै ज्ञवालीले भने, ‘नियमित मुलुक र पार्टी चलिरहेको अवस्थामा त्यसो गर्नु हुँदैनथियो । तर संविधान पनि नमान्ने र पार्टीको विधान पनि नमान्ने त्यो समस्या भयो के ? अनि पार्टीको विधान मिचेर पनि त्यही गर्ने अनि हामी त्यसलाई मानेर बस्नुपर्छ र ?’
ज्ञवालीले अझैपनि पार्टी एकिकरणको ढोका पूर्ण रुपमा बन्द भइनसकेको बताए ।
पूरा अडियो सुन्नका लागि क्लिक गर्नुहोस्