काठमाडौं, ७ पुस । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको भ्रमण बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घोराही स्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी बोकेको बा४ख ९७६६ नम्बरको बस तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार दुर्घटनामा परी शिक्षालयका शिक्षक प्रदिप घिमिरे, दंगीशरण १ का संजित रत्गैया, भुमे ६ पुर्वी रूकुमका नरेश वली, घोराही १७ दाङका विजय जिएम, चालक घोराही १४ का मदन केसीको मृत्यु भएको छ । अन्यको सनाखत हुन सकेको छैन ।
मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार रहेका थिए । दुर्घटनामा परी घाइते हुनेमा जुम्लाकी हिमाली हमाल, सोही ठाउँका कशेन्द्र खत्री, दाङको घोराहीकी समीक्षा रोकाया, अछाम मङ्गलसेनका विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिकाका प्रेमबहादुर खड्का, दाङको घोराहीकै मेनुका रिजाल रहेका छन् ।
त्यस्तै, जुम्लाका जीवन भण्डारी, सोही ठाउँका पर्शा रोकाया, अछामको मङ्गलसेनका युवराज ढुङ्गाना, रुकुम सानोभेरीकी रोजिना पुन, दाङ घोराहीका सञ्जय खनाल, रुकुम अर्माका राजन डाँगी, अछाम मंगलसैनकै भद्र बिष्ट र रोल्पाका प्रकाश वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्केका थिए । बस घुम्तीमा मोड्न नसकेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । बस सडकबाट करिब ७ सय मिटर तल खोलामा खसेको छ ।