काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या भए सम्पर्क गर्न आग्ह गरेको छ । महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न कामपाले नगरवासीलाई आग्रह गरेको हो ।
भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले गएका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको जानकारी दिए ।
सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भ¥याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ ।
सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।