काठमाडौं । दुई महिनादेखि बन्द भएको आन्तरिक नियमित उडान आजबाट संचालनमा आएको छ । मन्त्रिपरिषद्को बैठकले सिट सङख्या तोकेर उडान गर्न दिने निर्णय गरेको हो । उडान संचालन भएको पहिलो दिन आज विमानस्थलमा यात्रुको भीड देखिएको छ ।
लामो समयपछि नियमित उडान खुलेको भएपनि आज काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुको चाप भने त्यति धेरै नरहेको यतीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
उनका अनुसार अहिले उडान अवतरणमा ८० प्रतिशत अकुपेन्सी रहेको छ । यो अवस्थामा अत्यावश्यक कामका लागि आउजाउ गर्ने यात्रु मात्र हिँडेको उनको बुझाइ छ ।
नागरिक उड्डयन प्राधिकरणले तयार पारेको उडान तालिका अनुसार आन्तरिक उडानमा बुध्द, श्री, यती, सौर्य, तारा, समिट लगायत वायुसेवा कम्पनीले दैनिक क्रमशः ३१, १५, ७, ३, १, २ वटा उडान गर्ने छन् ।
दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ । आज बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन् ।