काठमाण्डौ । चीनका लागि पूर्व नेपाली राजदूत लिलामणि पौडेलले चीनमा कम्युनिष्ट पार्टीको क्रान्ति सफल नभएको भए नेपाल जस्ता साना मुलुकको अस्तित्व संकटमा पर्ने बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सवका सन्दर्भमा क्यापिटल टेलिभिजनको विशेष सम्वादमा बोल्दै पौडेलले चीनमा कम्युनिष्ट पार्टीको क्रान्ति सफल भएर नै चीन एक बन्न सफल भएको बताउनुभयो ।
उहाँले नेपाल जस्तो साना मुलुकको सार्वभौमसत्ताको रक्षा र उनीहरुको सुरक्षाको निम्ति सदैव चीनले आफ्नो स्पष्ट नीति अगाडि सारेको समेत बताउनुभयो ।
पौडैलेले भन्नुभयो, ‘चीनले विश्वका साना तथा गरिब मुलुकको विकास, समृद्धि र सार्वभौमसत्ताको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा समेत आवाज उठाउँदै आएको छ ।’
पौडेलले नेपाल जस्ता साना मुलुकको अस्तित्व संकटमा आउन थाल्यो भने चीनले सदैव आवाज उठाउँदै आएको प्रसङ्ग उठाउँदै भन्नुभयो,‘पछिल्लो समयमा आर्थिक हिसाबले कमजोर मुलुकहरुको विकास साझेदारीका माध्यमबाट चीनले आफ्नो रणनीतिक योजना अगाडि सार्दै आएको छ ।’
विश्वमा कतिपय मुलुकले विकास साझेदारी गर्दा आफ्नो नीति लाद्ने गरेका बताउँदै पौडेलले चीनले कुनैपनि मुलुकसँग विकास साझेदारी गर्दा आफ्नो विचारधाराका माध्यमबाट कहिलेपनि हस्तक्षेप नगरेको बताउनुभयो ।
उहाँले अबको दश बर्ष चीनले परिकल्पना गरेको विश्व विकसमित, मेलमिलाप, संरचनाहरुलाई विश्व व्यवस्थालाई शासन सत्ता सञ्चालन गर्ने संरचनामा समेत चीनले महत्वपर्ण भूमिका खेल्ने बताउनुभयो ।
विश्वका शक्ति सम्पन्न राष्ट्रहरुबीच सन्तुलन कायम गर्न समेत चीनले विश्वस्तरमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीनले नयाँ प्रकारको प्रगति गरेर विश्वमा शक्ति सन्तुलाई समेत कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले चीनले आफ्नो समृद्धिसँगै विश्वका अन्य साना मुलुकहरुसँग समेत विकास साझेदारीका माध्यमबाट सहकार्य गर्दै आएको बताउनुभयो ।
उप्रेतीले विश्वभरि नै विकास र शान्तिको सन्देश दिनका लागि विआरआइ परियोजना अगाडि सारेको चीनले राजनीतिक रुपमा मात्रै नभइ आर्थिक विकासमा समेत महत्वपूर्ण रणनीतिक योजना अगाडि सारेको बताउनुभयो ।
यस्तै, चीन मामिलाका विज्ञ दिनेश खनाल चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन र दूरदर्शि नेतृत्वबाट नेपालका राजनीतिक पार्टीहरुले समेत धेरै सिक्न सक्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा समेत चीनले महत्वपूर्ण भूमिका खेलेको हुँदा त्यसबाट प्रत्यक्ष रुपमा लाभ लिनुपर्ने धारणा राख्नुभयो ।
पूरा भिडियो हेर्न क्लिक गर्नुहोस् ।