काठमाण्डौ । नेपाल–चीन मामिलाका विज्ञ एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीनमा जनवादी शक्तिको उदय पश्चात विश्वका शक्ति सन्तुलनमा नै फरक आएको बताउनुभएको छ ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सिधा कुरामा कृष्ण तिमल्सिनासँग कुराकानी गर्दै श्रेष्ठले समाजवादी र जनवादी देश उदय भएको बेला साम्राज्यवादीहरुका विरुद्ध शक्ति सन्तुलन कायम गर्न समेत चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाले मद्दत पुगेको बताउनुभयो ।
विश्वका जनताको मुक्तिको पक्षमा स्वतन्त्र जनवादी कम्युनिष्ट पार्टीको उदय भएपछि पञ्चशीलको नयाँ सिद्धान्त प्रतिपादन भएर नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास गर्न समेत सघाउ पुगेको श्रेष्ठले बताउनुभयो ।
नेपालका कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीहरुको सम्बन्ध १९५१ मै सुरु भइसकेको बताउँदै श्रेष्ठले अन्तर्राष्टिय« स्तरमा बाङडुङ सम्मेलनले गर्दा नेपालको चीनसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चीनमा जनवादी सत्ता आएकाले पनि नेपालमा कम्युनिष्टहरु संगठित हुँदै गएका हुन् । यसले नेपाललाई मात्र होइन संसारलाई नै प्रभावित बनाएको छ ।’
श्रेष्ठले सि चीनफिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगमा प्रवेश गरेर विश्वमा अहिले दोश्रो अवस्थामा रहेता पनि अबका केही बर्षभित्रै पहिलो शक्ति राष्ट्र बन्ने अवस्थामा पुगेको बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टी भनेको समृद्धि र समाजवादलाई प्राप्त गर्ने दिशामा अग्रसर भएर स्थापित भएको छ ।’
चीनले आफ्नो देशमा प्राप्त गरेको उपलब्धी छरछिमेकीलाई पनि बाड्ने गरेको बताउँदै श्रेष्ठले बिआरआई त्यसैको एउटा महत्वपूर्ण परियोजना भएको बताउनुभयो । अहिले विश्वमा चीनको समृद्धिका लागि साझेदारीको भूमिका बढ्दै गएको उहाँले बताउनुभयो ।
अहिले कोरोनाकै बेला पनि विश्वका १६० देश र संस्थाहरुलाई खोप र सामानहरु आपूर्ति गरेर विश्वमा आउने कुनैपनि समस्यालाई उसले आफ्नो पनि समस्याका रुपमा लिने गरेको श्रेष्ठले बताउनुभयो ।
बदलिँदो विश्वमा सूचना र प्रविधिको प्रयोग गर्ने र अन्तरिक्षमा समेत चीनको प्रवेशलाई स्थापित गर्न चीन सक्षम भएको श्रेष्ठले बताउनुभयो ।
चीनमा कम्युनिष्ट पार्टीको अनुशासन, उत्तरदायी नेतृत्व र देशभक्त भएकै कारण पनि चीनले सकारात्मक परिवर्तन गर्न सक्षम भएको धारणा राख्दै श्रेष्ठले चीनले विश्व समुदायालई नै नेतृत्व गर्ने तहमा पुग्न खोजेको बताउनुभयो ।
अडियो सुन्नको लागि क्लिक गर्नुहोेस्