काठमाण्डौ । बोधिसत्त बिहार बुढानिलकण्ठ काठमाण्डौले नेपाल पत्रकार मञ्चलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका निम्ति विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
नेपाल पत्रकार मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गरे ।
विहारले पत्रकार मञ्चलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान उपलब्ध गराएको हो ।
स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले सामाजिक सेवा गर्ने हेतुले अहिलेको जटिल परिस्थितिमा कोभिड प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । उनले भने, ‘पत्रकारहरुको स्वास्थ्य सुरक्षाका निम्ति सहयोग गर्न पाउनु हाम्रो लागि खुशीको क्षण हो ।’
कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोभिड–१९ को प्रत्यक्ष मारमा नेपालका पत्रकारहरु समेत परेको बताए । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा कार्यरत झण्डै ३ हजार पत्रकार कोरोना संक्रमित हुँदा २० जना पत्रकारको कोभिडकै कारण मृत्यु हुनु अत्यन्तै दुःखद अवस्था भएको विद्रोहीले बताए ।
कुनै पनि सहयोग सानो वा ठूलो संख्यामा निर्धारण नहुने बताउँदै उनले भने, ‘कुनै पनि सहयोग सानो वा ठूलो भन्ने कुरा त्यसको मात्राले निर्धारण गर्दैन, बरु पवित्र भावनाले गरिएको जुनसुकै सहयोग महत्वपूर्ण हुन्छ ।’
यसैगरी त्रिरत्न आवासिय स्कूल, स्वयम्भुका प्रधानअध्यापक राजु लामाले देशका विभिन्न भागमा कोभिड–१९ प्रभावितहरुका निम्ति सहयोग गर्ने क्रममा पत्रकारहरुसँग पनि जोडिन पाउनु आफ्नो लागि पनि सकारात्मक भएको बताए ।
कार्यक्रममा इन्टरनेशनल यूथ सोसाइटीका अध्यक्ष डा. प्रियरत्न महर्जनले समाजमा धेरे तह र तप्कामा कोभिड–१९ को प्रभाव परिरहेका बेला अग्रभागमा क्रियाशील पत्रकारहरुको निम्ति सानो मात्र भएपनि सहयोग गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।
विहारले काठमाण्डौ उपत्यकासहित अन्य जिल्लामा करिब १५ हजार गरिब तथा विपन्न कोभिड प्रभावित परिवारलाई राहत सामग्री समेत वितरण गरिसकेको छ ।