काठमाण्डौ । आज देशभरका विभिन्न स्थानमा भारी बर्षा हुने अनुमान गरिएसँगै देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेको र अधिकांश भू–भागमा अति भारी वर्षा हुने भएकाले बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।
अहिले बिहानको मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ ।
दिउँसोसम्म यी नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्त्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
यस्तै पश्चिम राप्ती र बबई नदीको बहाव सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।