हेटौंडा । बागमती प्रदेश सरकारले प्राकृतिक विपदमा परेको प्रदेशका विभिन्न जिल्लामा तत्काल पाँच करोड रुपैयाँ दिने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। विपदजन्य घटना रोकथाम, न्यूनीकरण र पीडितको उद्वारका लागि उक्त रकम उपलब्ध गराउने भएको हो।
बैठकले बाढी–पहिरोले ठूलो क्षति भएको सिन्धुपाल्चोकलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मातहतका जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयलाई बजेट उपलब्ध गराउने निर्णय गरेको छ। सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवालाई ५०/५० लाख रुपैयाँ दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डेले बताए ।
यस्तै, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटलाई २५/२५ लाख दिने निर्णय भएको छ। प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाईसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढंगबाट उल्लिखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने पनि समितिले निर्णय गरेको छ।
बैठकले सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा असार ९ गतेबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत निर्णय गरेको छ। शिविर सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ प्रतिष्ठानलाई उपलव्ध गराउने पनि निर्णय गरेको छ।