काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि हिजो दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मनसुनजन्य घटनामा परी यो अवधिमा ११ पुरुष, चार महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको हो ।
तीमध्ये सिन्धुपाल्चोकका चार, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक÷एकजना हुन् ।
बाढी–पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । तीमध्ये १२ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच, म्याग्दी र डोटीमा तीन÷तीन, जुम्ला र कास्कीमा दुई÷दुई, स्याङ्जा, चितवन, सल्यान र दार्चुलामा एक÷एकजना रहेका छन् ।
बाढी–पहिरोमा परी २१ जना बेपत्ता छन् । तीमध्ये १४ पुरुष, पाँच महिला र दुई बालक छन् । सिन्धुपाल्चोकमा २० र बाजुरामा एकजना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।