काठमाडौं । मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।
अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुने र निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनु भयो । तर अब ‘स्मार्ट लकडाउन’ हुने भनिए पनि यसबारे थाहा नभएको उहाँले बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि ‘स्मार्ट लकडाउन’बारे जानकारी नआएको तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने जानकारी दिनुभयो । सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि सीसीएमसीमा छलफल भएको यो विषयबारे सरकारी निकायहरु नै बेखबर छन् ।
तर पनि अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ । सीएमसी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनुभयो ।
लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।