काठमाडौं । गृह मन्त्रालयले पछिल्लो ५ दिनमा लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको र अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३÷३ तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, प्युठान र बाजुरामा १÷१ जना रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । तीमध्ये १० पुरुष, ४ महिला र २ बालिका छन् । बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रूपन्देहीमा १÷१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको मन्त्रालयले बताएको छ ।
बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट ८ जना गरी १०२ जनाको उद्दार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, यार्सा टिप्न गएका मनाङका ७० जनाको पनि हिजो नै उद्दार गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।
बाढीपहिरोका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालीकोट, सल्यान, दैलेखलगायत जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोका कारण १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एउटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५२८ घरका १७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो । बाढीपहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।