काठमाडौं । बाढी पहिरोले अवरुद्ध भएका २४ वटा राजमार्गमध्ये तीनवटा दुईतर्फी खुलेका छन् । १४ वटा सडक एकतर्फी खुलाइएको र बाँकी सातवटा अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड बल्दे–अम्कोट र हड्डे खोला, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा तथा पाँचखाल–मेलम्ची सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारमा सडक अवरुद्ध छ ।
त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत बाग्लुङको बोक्सेमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा सडक अवरुद्ध छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको शङ्खमूल, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
यस्तै सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको पिपलडाँडा, कर्णाली राजमार्गमा पर्ने दैलेखको बाङ्गेसिमल कालाखाला सडक खण्ड र कालाखाला सैन सडक खण्ड, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको ढोल्यामोड र तमैल कचाली, सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको कालीमाटी सिसुवा, कालीकोटको बालीघाट धनाडा भिग्म, पाल्पाको तानसेन–रिडी–कोरला लगायतका सडक खण्ड एकतर्फी खुलेका छन् ।