वीरगञ्ज, ५ पुस । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपकाे काम अन्तिम चरणमा पुगेकाे छ । पेट्रोलियम पाइपकाे काम १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।
परियोजनाअन्तर्गत बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडक छेउमै ब्लक निर्माण गरेका छन् । सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम तीव्र गतिमा भइरहेको छ ।
नेपालतर्फ पाइप ओछ्याउन बाँकी रहेको भूभागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा नौ किलोमिटर बाँकी रहेको छ भने वीरगञ्जको रजत जयन्ती चौक, गण्डक चौक बाइपास क्षेत्रमा पाइप क्रसिङकोे काम सम्पन्न भएको छ । यसैगरी गण्डक क्षेत्रको उत्तरतर्फ ४६८ मिटर क्षेत्रमा ड्रिलिङ गरी पाइप ओछ्याइएको छ ।
उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव सात किलोमिटर भूभागमध्ये ३० किलोमिटर क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ । भारततर्फ तीव्र गतिमा काम भइरहेकाले बाधा अवरोध नआए चाँडै नै बाँकी क्षेत्रमा समेत काम सम्पन्न गरिने भारतीय आयल कर्पोरेशन रक्सौलले जनाएको छ ।
नेपालको ‘लाइफलाइन’का रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको थियो ।
पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुञ्जभित्रका ६ हजार हरिया रूख काटिएपछि त्यस क्षेत्रमा पनि जमीनमुनि पाइप ओछ्याउने काम शुरु हुने कार्यालयले जनाएको छ ।