स्वभावैले मानिस जस्तो भोग्दछ, उस्तै सिक्दछ पनि । समाजमा मानिसले जस्तो भोगेको हुन्छ, सोही अनुरुपको परिवेशलाई आत्मसाथ गर्न पुग्दछ । चाहे त्यो राजनीतिक क्षेत्र होस् वा सामाजिक परिवेश नै किन नहोस्, उसले भोगेको अनुभवबाट नै सिकाइको निर्धारण हुने गर्दछ । अनि समाजमा पनि उसले सोही अनुरुपका आफ्ना व्यवहारहरु प्रस्तुत गर्न थाल्दछ ।
यतिखेर सामाजिक मनोविज्ञान अत्यन्त नकारात्मक सोच र चिन्तनबाट बढी हाबी भएको देखिन्छ । खासगरी समाजप्रति हेर्ने दृष्टिकोण, सोच अनि त्यसबाट उब्जिएका अनगिन्ती परिणामहरुले अहिले नराम्ररीले गाँजेको छ हाम्रो समाजलाई ।
खासगरी युवा पुस्तामा यसको गहिरो प्रभाव देखिनु, उनीहरुले समाजको नेतृत्व गर्न नसक्नु वा गर्ने वातावरण सिर्जना नहुनु जस्ता बिषयले पनि अहिले सामाजिक मनोविज्ञान कतातिर गइरहेको छ भनी बुझ्न कठिन छैन । यसमा युवा पुस्ता आफै पनि कति दोषी छ ? यसको समीक्षा गर्दै गरौंला । तर यो आलेखमा उठान गर्न खोजिएको बिषयबस्तु भनेको युवा पुस्ताले नेतृत्व गर्न सक्षम छन् कि छैनन् ? उनीहरुले अवसर पाएमा गर्न सक्छन् कि सक्दैनन् भन्ने नै हो ।
नेपालमा युवा पुस्ताको राजनीतिबाट अगाडि बढ्दै गरेका योगेश भट्टराई, गोकर्ण बिष्ट, महेश बस्नेत तथा गगन थापा लगायतले नेपाली राजनीतिमा युवा पुस्ताको नेतृत्वको आशा जगाएकै हुन् । उनीहरुले आफूले जिम्मेवारी पाउँदा त्यो भूमिकालाई प्रभावकारी ढंगले सम्पन्न गर्न आफ्नो सक्षमता पनि प्रस्तुत गरेकै हुन् । तरपनि कतिपय बेला अघिल्लो पुस्ता र वर्तमान पुस्ताहरु नै पनि युवाहरुलाई नेतृत्व र जिम्मेवारीमा ल्याउन नराम्ररी चुकेका छन् भन्न कठिन छैन ।
यस आलेखमा प्रस्तुत गरिएका नेतृत्वका आ–आफ्नै विशिष्ट क्षमता र शैलीगत व्यवहारहरु रहेका छन् । तर राजनीतिक नेतृत्वले नागरिकको अग्रमोर्चामा बसेर आफ्नो भूमिका निर्वाह गर्ने कार्यमा भने महेश बस्नेत अब्बल देखिन्छ । वैचारिक, सैद्धान्तिक र व्यवहारिक रुपमा समेत बस्नेत अब्बल यसर्थ पनि सावित भएका छन् कि उनका हरेक गतिविधिहरु मूलतः राजनीति र सामाजिक ध्येबाट उत्प्रेरित देखिन्छन् । समाज राजनीतिबाट पर रहन सक्दैन र हरेक बिषयबस्तु राजनीतिको सेरोफेरोमा घुमेकै हुन्छ । जसलाई राम्ररी आत्मसाथ गर्न सक्षम भएका छन् बस्नेत । हुन त यसरी सक्रिय हुँदा पनि बस्नेतमाथि आरोप, कटाक्ष र आलोचनाका पोकाहरु नबर्सिएका होइनन् । विशेषतः उनलाई प्रत्यक्ष रुपमा भन्दा पनि सामाजिक सञ्जालबाट कटाक्ष गर्नेहरुको जमात बढी नै देखिन्छ । कतिपय अवस्थामा उनीमाथि खनिएका आलोचनाहरु स्वस्थ नभएर कतैबाट निर्देशित जस्ता पनि देखिन्छन् । तर उनी यसलाई अस्वभाविक ठान्दैनन् । उनी आफ्नो कर्मप्रति निष्ठापूर्वक लागिरहेका छन् । उनी भन्छन्, ‘भन्नेहरु के–के भन्छन्, सुन्ने के–के सुन्छन्, आफ्नो कर्म गर्नुपर्छ पक्कै सकारात्मक फल प्राप्त हुन्छ ।’ उनको निष्ठाको धरोहर भनेका नागरिक नै हुन् । जोसँग उनी दैनिक कुममा कुम मिलाइरहेका हुन्छन् । उनीहरुका सुखमा हौसिएका हुन्छन् भने दुःख र पीडामा संवेदनशील पनि उत्तिकै हुने गरेका छन् । सोही कारण पनि उनको राजनीतिक कद दिनदिनै बढ्न थालेको छ ।
निष्ठाको राजनीति
बस्नेतको निष्ठा, लगनशीलता र प्रतिबद्धताका कारण नै उनी अहिले राष्ट्रिय राजनीतिमा समेत चलायमान देखिन्छन् । हुनलाई उनको राजनीतिक यात्रा आफ्नै जन्मथलो भक्तपुरको साविक गुण्डु गाविस (हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ७) बाट सुरु भएको हो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा देशकै कान्छो (२३ बर्षको) उमेरमा गाविस अध्यक्ष रुपमा निर्वाचित भएका बस्नेतले जिल्लामा कमजोर अवस्थामा रहेको पार्टी संगठनलाई क्रमशः विस्तार गर्दै लगे र अहिलेसम्म पनि निरन्तर रुपमा राजनीतिक संघर्षमा सक्रिय रहेका छन् । यतिञ्जेल जिल्लाका परम्परागत राजनीतिक पार्टी नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टी यतिबिध्न खुम्चिन बाध्य भएका छन् कि, उनीहरुको अस्तित्व नै अहिले संकटमा पर्न थालेको छ । यसको मूल श्रेय भनेको बस्नेतको राजनीतिक सक्रियता र सैद्धान्तिक र व्यवहारिकतालाई जनस्तरसम्म तहसम्म प्रभावकारी विस्तार गर्न सक्ने क्षमताका कारण नै हो भन्न सकिन्छ ।
राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका साथै विकासमा उनको जागरुकता र जुझारुपन भक्तपुरका लागि मात्र होइन मुलुककै लागि नमुना बनाउन बस्नेतको मिहेनत उदाहरणीय मानिन्छ । यसक्रममा प्रारम्भिक राजनीतिक यात्राको क्रममा विकासको ‘नमुना गाविस’ बनाएर आफ्नो गाविसलाई रुपान्तरण गर्न सफल बस्नेतको कार्यशैली र व्यवहार जनप्रिय मात्र रहेको छैन, स्वभाविक रुपमा विपक्षीहरुको निम्ति टाउको दुखाइको बिषय बन्न थालेको छ । आलोचकहरुलाई उनी भन्छन्, ‘लोकतान्त्रिक व्यवस्थामा आलोचना हुनु र गर्नुलाई म अस्वभाविक मान्दिन, तर अस्वस्थ खालको आलोचना र विकास गतिविधिका बारेमा बिष बमन गर्नेका निम्ति मेरो कुनै टिप्पणी छैन ।’
भक्तपुरको समृद्धिको सपना
हुनलाई महेश बस्नेतले भक्तपुरको समृद्धिको सपना आफू गाविसको अध्यक्ष हुँदा देखि नै देखेका थिए र त्यसलाई व्यवहारिक रुपमा सार्थक बनाउनको निम्ति अहोरात्र अहिलेपनि खटिएका छन् । अहिले जिल्लाका अधिकांश भौतिक पूर्वाधार निर्माणहरु बस्नेतकै नेतृत्वमा भइरहेका छन् । यो कुरालाई बस्नेतको पछाडि खिसीटिउरी गर्ने प्रतिपक्षले पनि सार्वजनिक रुपमै स्वीकार्दै आएका छन् । उनको होष्टेमा हैंसे गर्नेहरु प्रदेशमा शशिजंग थापा, स्थानीय तहमा बासुदेव थापा, सोम मिश्र, मदनसुन्दर श्रेष्ठ लगायतका जनप्रतिनिधिहरु समेत लागिपरहेका छन् । संघीय राजधानी काठमाण्डौबाट भौगोलिक रुपमा जोडिएर पनि बत्तिमुनिको अँध्यारोजस्तै रहेको भक्तपुरको मुहार फेर्ने सपना देख्नु महेशको निम्ति कम चुनौतीपूर्ण अवश्य पनि थिएन, र छैन पनि । विगतमा कांग्रेस र नेमकिपाको एकछत्र केन्द्रीय राजनीतिक नेतृत्वको चेपुवाबाट भक्तपुरवासीलाई उज्यालो भविष्यतर्फ डोर्याउन त्यति सहज पक्कै थिएन । तर उनी यस्ता चुनौतीहरुलाई प्रभावकारी माध्यमबाट परास्त गर्दै अगाडि बढिरहेका छन् । उनले भक्तपुरको समृद्धिका निम्ति देखेका सपनाहरु भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत संरचनाको निर्माणमा निरन्तर रुपमा सक्रिय रहेका कारण नै भक्तपुरको मुहार अझै फेरिँदै गएको छ । उनको यस्तो जुझारुपन र सक्रियताका कारण कतिपय बेला अझैपनि अराजनीतिक टिप्पणीहरु सार्वजनिक हुने गरेका छन् । यसको उनी ठाडै अस्वीकार गर्दै भन्छन्, ‘मैले भक्तपुरको विकासका निम्ति जुन पहल गरेँ, त्यसप्रतिको कसैको पूर्वाग्रहपूर्ण टिप्पणीको जवाफ दिनु आवश्यक ठान्दिन् । म यो कुरामा अवश्य पनि गर्व गर्छु कि, मलाई भक्तपुरले जन्मायो । यो क्रममा मेरो भक्तपुर निर्माणको सपना साकार हुँदैछ । त्यसमा जनताले मलाई साथ र अगाधपूर्ण समर्थन गर्नुभएको छ ।’ सामाजिक विकासको सवालमा पनि कहिलेकाँहि अनावश्यक टिप्पणी गर्नेहरुलाई बस्नेत भन्छन्, ‘ठीक छ सार्वजनिक स्थल र चोकमा बसेर नकारात्मक टिप्पणी गर्न सहज होला, तर त्यसको मूल्य भोलिका भावी पुस्ताले अवश्य पनि चुकाउनुपर्नेछ । आउनुहोस् विकासमा सहकार्य गरौं, प्रतिस्पर्धा नै गर्नुपर्ने हो भने प्रजातान्त्रिक पद्धति अनुसार गरिने निर्वाचनमा गरौंला । तर अहिले भने मुलुकको मुहार फेर्ने अभियानमा लागौं ।’
बेथिती विरुद्धको अठोट
आफू जन्मिएको गाउँ गुण्डूमा २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेपछि गाविसमा बेथितीहरु देखिन थाल्यो । यस्ता बेथितिहरुका बारेमा जब उनले जागरुक ढंगले थाहा पाउन थाले, उनलाई पनि लाग्न थाल्यो यदि समाजलाई सही गति दिने हो भने आफू पनि राजनीतिमा लाग्नुपर्दछ । उनी भन्छन्, ‘जब ल कलेज अध्ययन गर्न गएँ, कांग्रेसको भातृ संगठन नेविसंघका साथीहरुको गतिविधिहरुले गर्दा नेविसंघप्रति वितृष्णा जागृत भयो, त्यसैले म अखिलप्रति आकर्षित भएँ ।’ यही कारणले आफूलाई कम्युनिष्ट बनाएको उनी स्मरण गर्छन् ।
त्यसो त प्रारम्भिक अवस्थामादेखि नै गाउँको स्थानीय राजनीतिमा सक्रिय हुन थालेका बस्नेत वडा कमिटीको सदस्य, वडा कमिटी उपसचिव, सचिव, गाउँ कमिटीको उपसचिव सचिव, इलाका कमिटीको सदस्य, उपसचिव, सचिव जिल्ला कमिटीको सदस्य समेतको जिम्मेवारीमा पुगे ।
त्यसपछि उनको राजनीति युवासंघ तर्फ मोडियो । उनी युवा संघको जिल्ला कमिटी सदस्यसँगै जिल्ला अध्यक्ष भए । केन्द्रीय कमिटीको सदस्य भएपछि उनी २०६३ मा अर्को कार्यकालका लागि युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिए । तत्कालिन अवस्थामा नेकपा माओवादी भातृ संगठन वाइसिएल आतंक रहेको बेलामा उनी युथ फोर्सका प्रमुख बने । विशुद्ध राजनीतिक संगठनका रुपमा स्थापित भएको युथ फोर्सले माओवादी भातृ संगठनले गरेको ज्यादती तथा आतंकका विरुद्धमा उनी नेतृत्वको युथ फोर्सले आवश्यकता अनुसार प्रतिकारात्मक व्यवहार समेत प्रस्तुत गर्नपुग्यो । त्यसपछि उनी सर्वाधिक चर्चामा समेत रहे । त्यतिनै बखत केही अराजनीतिक शक्तिहरु महेशविरुद्ध खनिएर युथ फोर्सका गतिविधिहरुको अपव्याख्या गर्न थाल्यो । यद्यपि, उनी २०६७ सालमा युवा संघको केन्द्रीय अध्यक्ष समेत चुनिएर देशव्यापी रुपमा युवा राजनीतिक र सामाजिक जागरुकका विभिन्न गतिविधिहरुको नेतृत्व गर्दै अगाडि बढे ।
केन्द्रीय राजनीतिमा उदय
२०७१ सालको भदौमा उनी सुशील कोइरालाको क्याबिनेटमा उद्योगमन्त्री भए । कम उमेरमा गाविस अध्यक्ष भएर चर्चा त उनले बटुलेकै थिए, कान्छा मन्त्रीका रुपमा सिंहदरबार छिर्ने मौका पाए । त्यही युवा सिर्जनाशीलताको परिणाम नै मान्नुपर्छ, महेश मन्त्री रहेको एक वर्षको अवधिलाई अहिले पनि उद्योगी व्यवसायी र कर्मचारीले राम्रो कार्यकालका रुपमा लिन्छन् । औधोगिक ऐन, विदेशी लगानी नीति, स्वदेशी वस्तु उपयोग निर्देशिका, एक प्रदेशमा एक ठूलो औधोगिक केन्द्र, प्रत्येक जिल्लामा सानो औधोगिक क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा औधोगिक ग्रामको कन्सेप्ट, जीर्ण रहेका उधोग पुन सञ्चालन, औधोगिक जनशक्ति निर्माणका अभियान मार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २/२ सय युवा तयारी पार्ने कुराले महेशलाई अब्बल उधोगमन्त्रीका रुपमा स्थापित गरायो ।
राष्ट्र निर्माणको योजना
महेशको छवि राष्ट्रिय नेताका रुपमा निर्माण भइसकेको छ । त्यसैले उनी भक्तपुरसँगै मुलुक बनाउने सपना पनि देखिरहेका छन् । दिगो विकास र समृद्धिका लागि काम गर्ने जनशक्ति, कर्मचारी र राजनीतिज्ञ एकत्रित गरेर विकासमा छलाङ मार्न सकिने उनको बुझाइ छ । जलविद्युत, पर्यटन कृषि आकर्षण भन्ने तर खोलाहरु ओगटेर राख्ने प्रवृतिले पनि विकासमा अवरोध सिर्जना गरिरहेको उनी बताउँछन् । ‘अधिकार खोज्ने कर्तव्य ननिभाउने र अनुशासनमा नबस्ने समस्या धेरैमा विद्यमान रहेको उनी बताउँछन् । आधुनिक प्रविधि अपनाएर सिष्टम सुधार गर्दै लाने हो नेपाललाई १० वर्षभित्र जापान, सिंगापुर होइन्, थाइल्याण्ड र दिल्लीको लेभलमा सजिलै पुर्याउन सकिनेमा उनी विश्वास राख्छन् ।
समृद्धि युवा पुस्ताको नेतृत्वमा अवश्य पनि सम्भव छ । किनकी, युवा पुस्तामा जोश, जाँगर र हौसला भरपूर मात्रामा विद्यमान रहन्छ । युवा नेतृत्व क्षमतालाई पहिचान गरी उनीहरुको सिर्जनशिलतालाई भरोसायोग्य बनाउने वातावरण निर्माण गर्नु अहिलेको अपरिहार्यता र समयमा माग पनि हो ।
- थापा क्यापिटल दैनिकका सम्पादक हुन् ।