काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणको लागि भन्दै काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि थपिएको छ ।
निषेधाज्ञाकै कारण सङ्क्रमणदर कम हुँदै गएको र अझै केही दिन निषेधाज्ञा आवश्यक भएको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले अवधि थपेका हुन् । धेरै जिल्लाहरुमा जेठ मसान्तसम्मको लागि निषेधाज्ञा थपिएको छ ।
जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएका जिल्लाहरुमा काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, कञ्चनपुर, बाग्लुङ, बर्दिया, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, प्यूठान, काभ्रेपलाञ्चोक, बाजुरा, पर्वत, मकवानपुर छन् ।
यस्तै कालीकोट, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, रोल्पा, तनहुँ, सिरहा, पश्चिम नवलपरासी, इलाम, दोलखा, सिन्धुपाल्चोक, अछाम, धादिङ, जुम्ला, रसुवा, लमजुङ, मुस्ताङ र तेह्रथुममा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । अरु जिल्लाहरुले पनि निषेधाज्ञाको अवधि थप्दै लगेका छन् ।
मनाङ र खोटाङबाहेक अरु ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । ताप्लेजुङ, सप्तरी र मुस्ताङमा चाहिँ निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश नै जारी गरेर सरकारले कैद र जरिवाना हुनेसम्मका व्यवस्था गरेको छ ।